काउन्सिलको मर्यादा र प्रतिष्ठा उच्च बनाउने नवनियुक्त अध्यक्ष बस्नेतको उद्घोष

काउन्सिलको मर्यादा र प्रतिष्ठा उच्च बनाउने नवनियुक्त अध्यक्ष बस्नेतको उद्घोष

विश्व खबर

@BishwoKhabar

२०७८ जेठ २३ गते आईतबार ०१:०५

काठमाडौं । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेतले आफ्नो सम्पूर्ण कार्यकाल काउन्सिलको मर्यादा र प्रतिष्ठा बढाउने काममा खर्चने वचन दिएको छ । प्रेस काउन्सिल नेपालमा आज भएको सपथ ग्रहण कार्यक्रममा उहाँले अबको...


काठमाडौं । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेतले आफ्नो सम्पूर्ण कार्यकाल काउन्सिलको मर्यादा र प्रतिष्ठा बढाउने काममा खर्चने वचन दिएको छ । प्रेस काउन्सिल नेपालमा आज भएको सपथ ग्रहण कार्यक्रममा उहाँले अबको काउन्सिलले इतिहास रच्ने गरी कार्यसम्पादन गर्ने र त्यसका लागि सबैको साथ र सहयोगको अपेक्षा रहने बताए।

नेपाल सरकारले काउन्सिलको गरिमा र महत्वलाई बुझी लामो समयदेखि रिक्त अध्यक्ष पद पूर्ती गर्ने निर्णय गरेको जानकारी दिए । उनले प्रेस काउन्सिल नेपालको ऐन र नियममा टेकेर संस्थाको भावना र मर्मअनुरूप स्वस्च्छ पत्रकारिताको विकासमा पहल गर्ने उल्लेख गरे । अध्यक्ष बस्नेतले काउन्सिलमा धेरै काम गर्न बाँकी रहेको भन्दै संस्थाको गरिमालाई उच्च बनाउन गम्भीर ढङ्गबाट समीक्षा गर्दै अघि बढ्ने बताए ।

वैकल्पिक मिडियामा देखिएका केही बेथितिका कारणले पत्रकार र गैर पत्रकार छुट्याउन गाह्रो भैरहेको, अनलाइनका नाममा खुलेका कतिपय पोर्टलहरूले विकृति फैलाएको भन्दै अब अनुगमन कडाइको साथ गर्ने उल्लेख गरे । पत्रकार आचारसंहिताको उल्लङ्घन गरी राज्यका उच्च ओहोदामा भएका व्यक्तिलाई जथाभावी गालीगलौज गर्दै उत्रनेलाई कारबाहीको दायरामा ल्याइने बताउँदै उनले भने – गलत ढङ्गबाट बनावटी समाचार बनाएर भ्रम छर्ने ठूला मिडियाप्रति समेत काउन्सिल कडारूपमा प्रस्तुत हुनेछ ।

काउन्सिलका सदस्य सचिव गोगनबहादुर हमालले युवा क्षमतालाई खेर जान नदिई सिङ्गो टिम संस्थाको भलाइको लाग्ने बतानुभयो । प्रेस काउन्सिल नेपालका पूर्व सदस्य एवं नेपाल पत्रकार महासङ्घका केन्द्रिय सचिव गोविन्द चौलागाईंले पत्रकारिताको क्षेत्रमा काम गर्ने निकाय काउन्सिल र महासङ्घबीच सहकार्य हुनेछ भन्दै श्रमजीवी पत्रकारको पक्षमा काउन्सिलले गम्भीर हुनुपर्ने, पत्रकारलाई दिँदै आएको सेवा सुविधा बढाउनुपर्ने बताए ।

सदस्य दीपक पाण्डेले लामो समयपछि काउन्सिलले अध्यक्ष पाएको भन्दै नेपाल पत्रकार महासङ्घसँग भन्दा पनि काउन्सिलसँग पत्रकारको बढी अपेक्षा हुने गरेको बताए । उनले काउन्सिल के हो भन्ने पत्रकारले नबुझेको, काउन्सिलको कर्मचारीलाई तालिमको आवश्यकता भएको जस्ता विषयमा छलफल गर्नुपर्ने बताए ।

काउन्सिलका सदस्य गणेशप्रसाद पोखरेलले काउन्सिल पत्रकारिता क्षेत्रको अर्धन्यायिक निकाय भएकाले युवा जोश र जाँगरबाट अबको काउन्सिललाई नयाँ उचाइ दिनुपर्ने बताए। सदस्य हरिप्रसाद जोसीले नवनियुक्त अध्यक्ष बस्नेतको कार्यकालमा काउन्सिलको भूमिकाको समीक्षा हुनुपर्ने बताए ।

सदस्य चिरञ्जीवी मास्केले पत्रकारिताको माध्यमबाट देशको विकास र समृद्धिमा नयाँ नेतृत्वले उल्लेखनीय काम गरेर देखाउने र त्यसको लागि हातेमालो गर्दै अगाडि बढ्ने बताए । सदस्य दुर्गा भण्डारी पौडेलले सफल कार्यकालको लागि शुभकामना दिए ।

सदस्य ठाकुरप्रसाद बेलबासेले कपाल फुलेपछि मात्रै अध्यक्षको जिम्मेवारी सम्हाल्ने प्रवृत्तिको अन्त्य भएसँगै युवा नेतृत्व तहमा पुग्ने अवसरको पूर्ण सदुपयोग गर्नुपर्ने बताए । उहाँले काउन्सिल पत्रकार र सरकारबीच सम्बन्ध सेतुको रूपमा काम गर्ने निकाय भएकाले चुनौतिहरूको सामना गर्दै गहन ढङ्गले काम गर्नुपर्ने उल्लेख गरे ।

यसअघि काउन्सिलका नवनियुक्त अध्यक्ष बस्नेतले काउन्सिलको हाताभित्र रहेको पत्रकार सहिद स्तम्भमा माल्यार्पण गरे लगत्तै सदस्य–सचिव हमालले माला र खादा लगाई स्वागत गरेको थियो । अध्यक्ष बस्नेतलाई प्रेस काउन्सिल नेपालका सदस्य सचिव हमाल, पुर्व सदस्य एवं महासङ्घका सचिव चौलागाईं, प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनाल, उपप्रशासकीय अधिकृतद्वय रामशरण बोहरा र राधेश्याम अधिकारी तथा कर्मचारी सङ्घको तर्फबाट अधिकृतद्वय सुरेन्द्र मल्ल र सविता ढकालले माला र खादा लगाएर स्वागत गरेर्को थियो ।

सदस्यहरू जोसी, मास्के, अधिकारी र भण्डारी कोरोनाको कारण काउन्सिलमा उपस्थित हुन नसक्नु भएपछि भर्चुअल माध्यममा जोडिएर शुभकामना दिएको हो । अध्यक्ष बस्नेतले सदस्यहरूका सामु आफैँ सपथ पढेर सपथ ग्रहण गरेको हो ।

नेपाल सरकारको ०७८ जेठ २० को बैठकको निर्णयानुसार बस्नेत काउन्सिलको अध्यक्षमा नियुक्त भएका हुान। उनी प्रेस काउन्सिल ऐन, २०४८ को दफा ६ उपदफा १(क) बमोजिम नियुक्त भएका हुन । उक्त उपदफामा सर्वोच्च अदालतको अवकाश प्राप्त न्यायाधीश वा वरिष्ठ अधिवक्ता वा पत्रपत्रिकाको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिहरूमध्ये नेपाल सरकारबाट मनोनित व्यक्ति अध्यक्ष हुने प्रावधान छ ।

कानुन व्यवसायीका रूपमा पनि क्रियाशील बस्नेत यसअघि नेपाल टेलिभिजनको बोर्ड सदस्य तथा नेपाल महासङ्घको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । दोलखा निवासी बस्नेतले २०५२ सालमा छलफल साप्ताहिक र त्यसपछि लामो समय कान्तिपुर दैनिकमा काम गरे । उनले १४ महिना यता खुलानेपाल अनलाइनको सम्पादकका रूपमा कार्यभार सम्हाल्दै आएका थिए।

यसअघि काउन्सिलमा गोपाल बुढाथोकी र किशोर श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नु सम्हालेको थियो ।

प्रकाशित मिति २०७८ जेठ २३ गते आईतबार ०१:०५
प्रतिक्रिया दिनुहोस
  • ADBL

  • ncell

  • ninm

  • nic asia