images
images
  • भारतमा डुंगा डुब्दा २२ जनाको मृत्यु

    केरला- भारतमा एउटा पर्यटक डुंगा डुब्दा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् ।

    दक्षिणी राज्य केरलाको मालापुरम जिल्लामा कम्तीमा ३० जना यात्रु बोकेको डबल डेकर डुंगा दुर्घटनाको थप कारण स्पष्ट हुन सकेको छैन ।

    दर्जनौं मानिसहरूले रातभर आंशिक रूपमा डुबेको डुंगा र वरपर बाँचेकाहरूको खोजी सुरू गरेका र खोजी सोमबारसम्म जारी राखिएको थियो ।

    एक प्रहरी अधिकारीले एएफपीलाई दिएको जानकारी अनुसार अहिलेसम्म १५ महिला र सात पुरुष गरी २२ जनाको शव निकालिएको छ । ६ जनालाई उपचारका लागि अस्पतालमा लगिएको छ । उद्धार कार्य जारी छ ।

    स्थानीय प्रकाशन ओन्मानोरमाका अनुसार दुर्घटनामा तीन बालबालिकासहित एकै परिवारका ११ जनाको मृत्यु भएको छ ।

    पति र छोरीसँगै डुंगामा रहेकी रजिसाले डुंगामा सवार अधिकांश यात्रु बालबालिका रहेको र यात्राका क्रममा डुंगाबाट धुवाँ निस्केको बताए।

    डुंगामा ठोक्किएर घाँटीमा चोट लागेकी रजिसाले भने, “हामी लाइफ ज्याकेट लगाएका कारण मात्र बाँच्न सफल भयौं ।”

    उनले आफू र आफ्नो परिवारका लागि तीनवटा लाइफ ज्याकेट ल्याइएको र डुंगाको माथिल्लो डेकमा रहेका बालबालिकालाई चारवटा ज्याकेट दिइएको बताए ।

    उनले ओन्मानोरलाई दिएको जानकारीमा भने, “डुंगा यात्रामा निस्केको केही समयपछि डुबेको थियो । डुंगा डगमगाउन थालेपछि सबैजना एकछेउमा जम्मा भए अनि डुंगाबाट मानिस पानीमा खसे ।

    उनले घटनाकारे थप व्याख्या गर्दै भने, “म मेरो बच्चाको अगाडि लडेँ र पानीमा डुबेँ । डुंगा पानीमा खसेका मानिसहरूको माथिबाट पल्टियो । डुंगामा अधिकांश बालबालिका थिए ।”

    एनडिटिभीका अनुसार राष्ट्रिय विपद् प्रतिकार्य बल र भारतीय तटरक्षकबलका कर्मचारीसहित उद्धार टोलीले पानीमुनिको क्यामेराप्रयोग गरेर हराइरहेकाहरूको खोजी गरिरहेका छन् ।

    राज्यको विपक्षी कांग्रेस पार्टीका राजनीतिज्ञ भीडी सतीसनले दुर्घटना हेलचक्र्याँइका कारण भएको भन्दै यसको छानबिनको माग गरेका छन् ।

    केरलाका खेलकुद तथा मत्स्यपालन मन्त्री भी अब्दुरहिमानले मृत्यु हुनेमा अधिकांश विद्यालय बिदामा रहेका बालबालिका रहेको बताएका छन् । डुंगामा करिब ३० जना सवार रहेको प्रहरीले जनाएको छ ।  -रासस/सिन्ह्वा

    प्रतिक्रिया दिनुहोस्
    images
    images