images
images
  • प्रहरी महानिरीक्षक कुँवरद्धारा बुटवल प्रहरी कार्यालयको भवन उद्घाटन

    रूपन्देही- प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले इलाका प्रहरी कार्यालय बुटवल रूपन्देही परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय उद्घाटन गरेका छन्।

    उनले बिहीबार आयोजित एक कार्यक्रमबीच प्रमुख निवास, प्रहरी ब्यारेक, भान्सा घर तथा नागरिक सहायता कक्ष भवनहरूको संयुक्त उद्घाटन गरेका हुन्।

    कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा संलग्न निर्माण व्यवसायीहरूलाई कदरपत्र तथा भवन निर्माणमा योगदान पु¥याउने प्रहरी कर्मचारीहरूलाई पुरस्कारसमेत प्रदान गरेका छन्।

    उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी सङ्गठनलाई आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नेदेखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा सङ्गठनलाई संस्थागत रूपमा मजबुत र सक्षम बनाउन प्रहरी प्रधान कार्यालय सदैव कटिबद्ध र प्रयासरत रहेको बताएका छन्।

    भवनहरूसँगै प्रहरीको सेवाप्रतिको इमान्दारिता, जिम्मेवारी बोध, प्रहरी आचरण र व्यवहारले प्रहरीप्रतिको जनविश्वास अभिवृद्धि गर्ने विश्वास उनँले व्यक्त गरे ।

    भवनहरू सबैको साझा सम्पत्ति रहेको उल्लेख गर्दै महानिरीक्षक कुँवरले नव–निर्मित भवनहरूप्रति अपनत्वको भाव राखेर उचित संरक्षण, संवर्द्धन गर्दै दीर्घकालसम्म जर्गेनाका
    लागि सहयोग गर्न सवैसँग आग्रह गरे ।

    प्रहरी ब्यारेक भवन र कार्यालय प्रमुख निवास भवन नेपाल सरकारको नियमित बजेटबाट कुल ३ करोड १९ लाख १३ हजार ३ सय ३६ रूपैयाँ ३२ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको हो भने प्रहरी कार्यालय भवन, भान्सा घर र नागरिक सहायता कक्ष प्रदेश सरकारको नियमित बजेटबाट कुल २ करोड ४१ लाख २० हजार ४ सय ६२ रूपैयाँ २१ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।

    कार्यक्रममा तिलोत्तमा, देवदह तथा सैनामैना नगरपालिकाका नगर प्रमुखहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलादमी, संचारकर्मी एवं स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images