काठमाडौं- मार्च १८ देखि फरार रहेका ‘वारिस पञ्जाब दे’ संगठनका प्रमुख तथा खालिस्तान समर्थक अमृतपाल सिंहलाई पञ्जाब प्रहरीले आइतबार बिहान मोगाबाट पक्राउ गरेको छ।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार अमृतपाललाई मोगाको रोडे गाउँको गुरुद्वाराबाट पक्राउ गरिएको हो। अब अमृतपाललाई भटिण्डाबाट विमानबाट असमको डिब्रुगढ जेल लगिनेछ। अमृतपाल विरुद्ध एनएसएअन्तर्गत मुद्दा दर्ता गरिएको छ।
अमृतपाल ३६ दिनदेखि फरार थिए। अमृतपालले आफ्ना एक समर्थकको रिहाइका लागि फेब्रुअरी २३ मा पञ्जाबको अजनाला प्रहरी चौकीमा आक्रमण गरेका थिए। घटनापछि प्रहरीले उनलाई खोजिरहेको थियो।
खलिस्तान समर्थक नेता रहेका उनी शिख समुदायका लागि स्वायत्त राज्यको माग गर्दै आएका छन् ।
भारतीय दूतावासले यसअघि उनी नेपालमा लुकेर बसेको दावी गरेको थियो । भारतीय सुरक्षाकर्मीहरु नेपाल आएर खोजीसमेत गरेका थिए । तर उनी भारतबाटै पक्राउ परेको पञ्जाब प्रहरीले उल्लेख गरेको छ ।
उनी लामो समय दुबई बसेर भारत आएका थिए ।


विश्व खबर 

















