सडक मानवहरुको उद्धार र स्याहार गर्दै आएको मानव सेवा आश्रम बागलुङ निशेधाज्ञाका कारण समस्यामा परेको छ । दाताहरुको सहयोगका आधारमा सञ्चालित आश्रममा निशेधाज्ञामा सहयोग आउन छोडेको हो । सहयोग गर्ने दाताहरु कोरोना सङ्क्रमणको त्रासका कारण आश्रमको सम्पर्कमा आउन छोडेपछि सहयोग घटेको हो ।
दाताहरु आउन छोडेपछि आश्रम सञ्चालनमा हम्मेहम्मे परेको छ । पचपन्न महिला, बालबालिका तथा वयोवृद्धाहरुलाई आश्रय दिइरहेको आश्रमले दैनिक खर्च चलाउन समेत कठिन भएको आश्रमकी सञ्चालिका सुमिरा लामाले बताउनुभयो । आश्रममा दाल, चामल, नुन, तेललगायतका दैनिक उपभोग्य वस्तु सकिएका छन् ।
आश्रमको दैनिक सञ्चालन खर्च गर्न नगदसमेत छैन । सञ्चित पुँजी नरहेको र सहयोग रोकिँदा आश्रम सञ्चालनमा समस्या भएको लामाले बताउनुभयो । जन्मदिन, स्मृति दिवस र अन्य सामाजिक सङ्घसंस्थाहरुको स्थापना दिवसका कार्यक्रम हुँदा आश्रमलाई सहयोग आउने गरेको थियो ।
निशेधाज्ञाका कारण कुनै पनि कार्यक्रमहरु सञ्चालन भएका छैनन् । वैदेशिक रोजगारमा रहेकाहरुले गर्ने सहयोग समेत रोकिएको छ । लामो समय सहयोग रोकिँदा भएको सञ्चित रकम समेत सकिएको आश्रमले जनाएको छ । ‘‘सहयोगी मनका धनी व्यक्तिहरूको कारण मानव सेवा आश्रम सञ्चालन भइरहेको थियो’’ लामा भन्नुहुन्छ, ‘‘अहिले कोही आउनु भएको छैन्, यहाँका लक्ष्मीनारायणहरुलाई खाना खाजा खुवाउन समेत समस्या भैरहेको छ ।’’ स्थानीय व्यापारीबाट खाद्यान्न उधारो लिएर काम चलाएको लामाले बताउनुभयो । आश्रममा रहेका ५३ जनालाई कोरोनाविरुद्धको खोप लगाइएकाले सङ्क्रमणबाट हुने क्षतिको त्रास भने कम छ ।























