गोरखा- नेपाली सेनाले गोरखादेखि रुपन्देहीको जितगढीसम्म पदयात्रा सुरु गरेको छ । तत्कालिन गोरखाका राजा पृथ्वीनारायण शाहले राज्य विस्तारका क्रममा प्रयोग गरेको बाटोमा नेपाली सेनाले बुधबारदेखि पदयात्रा सुरु गरेको हो ।
नेपाली सेनाको अगुवाइ एवं गोरखा र पालुङटार नगरपालिकाको सहकार्यमा सुरु भएको यात्रामा क्याप्टेन राजकुमार श्रेष्ठको नेतृत्वमा ४८ जना सहभागी छन् ।
नेपालको राष्ट्रिय झण्डाको साथमा ५ प्रथम कम्पनी (श्रीनाथ, कालिबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख) र जितगढी लडाइमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर बाजा गाजासहित उनीहरु यात्रामा निस्किएका हुन् ।

यो टोलीले सतीघाट पुगेर तनहुँको टोलीलाई झण्डा हस्तान्तरण गर्नेछ । तनहुँको टोलीले केलादीघाट पुगेर पाल्पालाई र पाल्पाले नुवाकोटगढी पुगेर रुपन्देहीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
रुपन्देहीको टोलीले वैशाख ७ गते जितगढी पु¥याएपछि यात्रा सम्पन्न हुनेछ ।
यात्रामा गोरखाको रिपुमर्दन गण, तनहुँको रुरु भैरव दल गण, काली भञ्जन गण, राजदल गण, स्याङ्जाको समरजित गुल्म, पाल्पाको दि फेमस महिन्द्र दल गण र रुपन्देहीको गरुड दल गण प्रत्यक्ष सहभागी हुनेछन् । गोरखादेखि जितगढीसम्म करिव २०७ किलोमिटर दुरीको पदयात्रा हुनेछ ।
यात्रामा निस्किएका टोलीलाई वुधबार एक कार्यक्रमकाबीच झण्डा हस्तान्तरण गरेर विदाइ गरिएको छ । नेपाली सेनाका पश्चित पृतनापति दीपककुमार बानियाँको उपस्थितिमा उनीहरुलाई झण्डा हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै बानियाँले राज्य विस्तारका क्रममा प्रयोग भएको पदमार्गको प्रचार प्रसार एवं संरक्षणका लागि पदयात्रा सुरु गरिएको बताए ।
विगत पाँच बर्षदेखि नेपाली सेनाको अगुवाइमा गोरखा काठमाडौ एकीकरण मार्गमा पदयात्रा हुदै आएको बताउदै उनले यो गोरखा-जितगढी यात्रालाई पनि निरन्तरता दिने बताए ।
गोरखा नगरपालिका मेयर कृष्ण रानाले जिल्लाको पर्यटन प्रवर्द्धनमा पदयात्राले सहयोग पुग्ने धारणा व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले पुरातात्विक महत्वका बिषयलाई संरक्षण र प्रवद्र्धन गर्न पदयात्राले सहयोग पुग्ने बताए ।
























