काठमडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पहिलोपटक विस्तार हुँदा नै पार्टीका तर्फबाट स्वास्थ्यमन्त्री बन्ने भन्दै उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई निलम्बन गरेको हो ।
“उहाँको त्यस्तै प्रकरण आयो । अहिलेलाई उहाँलाई निलम्बन गरिएको छ,” रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले भने, “अहिलेलाई उहाँलाई निलम्बन मात्र गरिएको हो । अनुशासन समितिले छानबिन गरेपछि उहाँलाई हुने कारबाही निश्चित हुनेछ ।”
उनी समानुपातिक सांसद हुन्। पार्टीले निलम्बन गरेपपछि अब उनको सांसद पद पनि निलम्बन हुन सक्छ। तर रास्वपाले बनाएको छानबिन समितिले प्रतिवेदन बुझाएपछि सो प्रक्रिया सुरु गर्ने उनले जानकारी दिए।
अडिओमा श्रेष्ठले प्रसाईंसँग गत पुस १० को आसपास रकम मागेको सुनिन्छ।
त्यसबेला एमाले–मााओवादीसहित ७ दलको तर्फबाट प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए भने रास्वपाका सभापति रवि लामिछाने उप–प्रधान तथा गृह, उपसभापति डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा र शिशिर खनाल शिक्षामन्त्री बनेका थिए।
यस्तै, डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बनेकी थिइन्। श्रेष्ठले पार्टीकै लागि रकम आवश्यक रहेको पनि प्रसाईंलाई भनेका छन्।






















