images
images
  • प्रदेश नामाकरणमा माओवादीको दोहोरो चरित्र, एक महिनामै किन उभियो विपक्षमा ?

    काठमाडौं- नेपाली राजनीतिमा नेकपा माओवादी केन्द्रको अस्थिर र ढुलमुले चरित्र बारम्बार देखिँदै आएको छ । छेपाराको जस्तै छिनछिनमा रङ्ग फेर्ने माओवादीको चरित्र नै बनिसकेको छ ।

    प्रधानमन्त्री बन्न र प्रधानमन्त्री बनिसकेपछि प्रचण्डले चालेका कदम होस् या प्रदेश–१ को नामकरणको सवालमै किन नहोस् । माओवादीको दोहोरो चरित्र प्रस्ट देखिन्छ । प्रदेश–१ को नामकरणमा देखाएको दोहोरो चरित्रले माओवादी थप विवादित बनेको छ ।

    गत फागुन १७ गते बसेको प्रदेशसभा बैठकले प्रदेश-१ को नामकरण गरी कोशी राख्यो । नेकपा एमाले, नेपाली काङ्ग्रेससहित पहिचानको पक्षमा उभिँदै आएको नेकपा माओवादी केन्द्रले समेत कोशीको पक्षमा मतदान गरे । माओवादीका सबै प्रदेशसभा सदस्यले प्रदेशको नाम कोशी राख्ने पक्षमा मतदान गरेका थिए ।

    प्रदेश–१ को नाम कोशी राखिएपछि पहिचान पक्षधरहरू सडकमा उत्रिए । उनीहरूले चरणबद्ध आन्दोलन नै घोषणा गरे । आन्दोलनकै क्रममा प्रहरीको लाठी प्रहारबाट पदम लिम्बू (लाजेहाङ)को मृत्यु समेत भयो । त्यसपछि आन्दोलन चर्किँदै गयो । संघीय राजधानी काठमाडौं र प्रदेश राजधानी विराटनगरसहित पूर्वको विभिन्न ठाउँमा विरोध प्रदर्शन भए । कोशी प्रदेश लेखिएको पालिकाहरूमा ताला लगाउनदेखि मुख्यमन्त्री हिक्मत कार्की र पूर्वमन्त्री तथा माओवादी नेता इन्द्र आङ्बोमाथि आक्रमणको प्रयास समेत भयो । प्रतिनिधिसभा तथा राष्ट्रियसभामा पनि प्रदेश नामकरण र त्यसपछि भइरहेको आन्दोलनबारे प्रश्न उठ्यो ।

    आन्दोलन चर्किँदै गएपछि माओवादी केन्द्रले दबाब र आलोचना थेक्न सकेन । प्रदेशसभामा संसदीय दलको बैठकले सर्वसम्मत निर्णय गरेर कोशीको पक्षमा मत गरेर बहुमत पु¥याएको माओवादी एक महिनापछि कोशीकै विपक्षमा उभियो । पहिचानको आधारमा उक्त प्रदेशको नाम राख्नुपर्ने पहिचानवादीहरूले आन्दोलन चर्काएपछि त्यसमा लय मिलाउँदै माओवादी पहिचानकै आधारमा कोशी खारेज गर्नुपर्ने पक्षमा आइपुगेको छ ।

    कोशी खारेज गरेर पहिचानको आधारमा पुनः नामकरण गर्नुपर्ने माग गर्दै भइरहेको आन्दोलनप्रति माओवादीको प्रदेश समितिले विज्ञप्ति जारी गरेर ऐक्यबद्धता जनाएको छ । प्रदेश समितिले मात्रै नभई माओवादी केन्द्रले नै कोशी नामकरण गर्नेगरी गरेको निर्णय फिर्ता लिने निर्णय गरेको छ ।

    हिजो (मंगलबार) प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले पनि कोशी प्रदेशको नामाकरण सच्याउन पहल गर्ने बताइसकेका छन् । । पहिचानका आधारमा प्रदेशको नामाकरण माग गर्दै ज्ञापनपत्र बुझाउन पुगेका पार्टी निकट जनवर्गीय संगठनलाई प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशको नाम सच्याउन पहल गर्ने बताएका छन् ।

    बहुमतले प्रदेश–१ को नाम कोशी राखिसकेको छ । माओवादीकै मतमा प्रदेशसभाले पास गरिसकेको नाममा माओवादीको यो निर्णय के अर्थ राख्छ ? हिंसा भड्काएर थप अशान्ति मच्चाउने या पहिचानको पक्षमा चलेको आन्दोलनको सहानुभूति लिएर पार्टीको संगठन सुदृढ गर्ने ? प्रश्न उठिरहेको छ ।

    कतिपयले माओवादीको दोहोरो चरित्र भएको भन्दै असन्तुष्टि जनाइरहेका छन् भने केहीले कोशीको पक्षमा मतदान गरेर गरेको महाभूल सच्याएको रुपमा लिन्छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images