काठमाडौं- त्रिभुवन विश्वविद्यालयले २०८० वैशाख ४ गतेसम्ममा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुन नसके एक वर्षसम्म नहुने जनाएको छ ।
वि केन्द्रीय निर्वाचन समितिले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका–२०७९ अनुसार चैत ५ गते स्थगित निर्वाचन वैशाख ४ गतेसम्म मात्र गर्ने मिल्ने व्यवस्था उल्लेख भएअनुसार त्यसपछि निर्वाचन गर्न नमिल्न बताएको छ ।
वैशाखपछि पढाइ र परीक्षालाई सँगै लैजानुपर्ने भएकाले तत्काल निर्वाचन गर्न सम्भव हुँदैन एक सदस्यले भने ।
उनका अनुसार हाल काठमाडौंको ४ सहित १२ आंगिक क्याम्पसमा निर्वाचन हुन सकेको छैन । काठमाडौंकोे त्रिचन्द्र, नेपाल कमर्श (मीनभवन), विश्वभाषा र अमृत साइन्स (अस्कल) क्याम्पसमा निर्वाचन अनिश्चित भएको छ । बाँकी २ वटा पाटन संयुक्त र आरआर क्याम्पसमा यही २५ र २७ गते हुने गरी प्रक्रिया शुरू भएको छ । उपत्यका बाहिर डोटी क्याम्पस डोटी, सिद्धनाथ महेन्द्रनगर, कास्कीको पृथ्वीनारायण, पोखरा इन्जिनियरिङ र पोखरा नर्सिङ, चितवनको वीरेन्द्र बहुमुखी र इन्जिनियरिङ क्याम्पस र वीरगन्जको ठाकुरराम क्याम्पसमा निर्वाचन अनिश्चित भएको छ ।
अनुगमन समितिले फागुन तेस्रो साता १३ बँुदे निर्देशिका जारी गरी स्थगित भएको निर्वाचन ३० दिनभित्र गर्नुपर्ने व्यवस्था गरेको छ । निर्देशिकाको दफा १२ को उपदफा ८ मा चैत ५ गते स्थगित भएको निर्वाचन ३० दिनभित्र गर्नुपर्ने उल्लेख छ ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार हालसम्म देशभर ४८ आंगिक र करिब ३ सय सम्बन्धन प्राप्त क्याम्पसहरूमा निर्वाचन सम्पन्न भएको छ । देशभर ६२ आंगिक र १ हजार ४० सम्बन्धन क्याम्पस छन् । तीमध्ये झन्डै ७ सय वटामा स्ववियु निर्वाचन हुन सकेको छैन ।
निर्वाचन हुन नसकेको क्याम्पसमा क्याम्पस प्रमुखले आन्तरिक रूपमा विद्यार्थी संघ, संगठनसँग छलफल गरी त्रिविको सहमतिपछि मात्र निर्वाचन गर्नुपर्नेछ ।






















