images
images
  • आइपिएल: विराट कोहलीको उत्कृष्ट ब्याटिङमा बेंगलोरको सानदार जित, मुम्बई ८ विकेटले पराजित

    काठमाडौं- भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंग्लोरले विजयी सुरुवात गरेको छ ।

    गएराति सम्पन्न खेलमा कप्तान फाफ डु प्लेसिस र विराट कोहलीको उत्कृष्ट ब्याटिङको सहयोगमा पाँचपटकको विजेता मुम्बई इण्डियन्सलाई ८ विकेटले हराउँदै बैंग्लोरले विजयी सुरुवात गरेको हो ।

    मुम्बईले दिएको १ सय ७२ रनको लक्ष्य बैंग्लोरले १६.२ ओभरमा २ विकेट गुमाएर भेट्टायो । उसका लागि विराट कोहली र कप्तान फाफ डुप्लेसिसले उत्कृष्ट पारी खेले । ४९ बलको सामना गरेका कोहलीले ६ चौका र ५ छक्कासहित अविजित ८२ रन बनाए ।

    त्यस्तै, डुप्लेसिसले ४३ बलमा ६ छक्का र ५ चौकाको सहयोगमा ७३ रनको इनिङ खेले । दिनेश कार्तिक शून्यमै आउट हुँदा ग्लेन म्याक्सवेल १२ रनमा अविजित रहे । मुम्बईका लागि क्यामरुन ग्रीन र अर्शद खानले एक÷एक विकेट लिए ।

    त्यसअघि बेंगलुरुस्थित चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनायो ।

    उसका लागि तिलक वर्माले उत्कृष्ट पारी खेले । ४६ बलको सामना गरेका उनले ९ चौका ४ छक्कासहित अविजित ८४ रन बनाए । टी-२० क्रिकेट करियरमा तिलकको यो उच्च स्कोर हो ।

    त्यस्तै, नेहल वढेराले २१, सूर्यकुमार यादवले १५ र इशान किशनले १० रन जोडे । अर्शद खानले अविजित १५ रनको योगदान दिए । बैंग्लोरका लागि कर्ण शर्माले दुई, मोहम्मद सिराज, माइकल ब्रेसवेल, अर्शल पटेल, आकाश दीप र रिसी टोप्लेले एक÷एक विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images