काठमाडौं- नेपाली कांग्रेसभित्र मन्त्री बनाउने विषय पेचिलो बनेको छ । संस्थापनइतर समूहले सम्मानजनक सहभागिताको माग गरेको छ ।
शुक्रबार बिहान समूहका नेता डा.शेखर कोइरालाले आफूनिकट पदाधिकारीहरूसँग गरी आफ्नो समूहले सम्मानजनक सहभागिता नपाए सरकारमा सहभागी नहुने सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
अहिले मन्त्रीको अन्तिम टुंगो लगाउन सभापति देउवाको अस्थायी निवास धुम्बाराहीमा बैठक जारी छ । बैठकमा शेखर समूहबाट कोही नेता गएका छैनन् । शेखर समूहबाट धनराज गुरुङ र डिगबहादुर लिम्बू मन्त्री बन्ने चर्चा छ ।
सत्ता गठबन्धनमा कांग्रेसले ८ मन्त्रालय पाएको छ । सभापति शेरबहादुर देउवाले शेखर समूहलाई दुई मन्त्रीको नाम दिन भनेका छन् । शेखर समूहले भने यो प्रस्ताव स्वीकार्य नहुने बताएको छ ।
शुक्रबार बिहान बसेको डा. शेखर कोइराला र उनको समूहका पदाधिकारीहरुको बैठकले सम्मानजनक सहभागिता नभएसम्म मन्त्रीहरुको नाम नदिने निर्णय गरेको छ ।
‘यो हामीले सभापतिलाई पनि भनेका छौं, प्रधानमन्त्री प्रचण्डलाई खबर गरेका छौं’, सहमहामन्त्री जीवन परियारले भने ।






















