images
images
  • भारतले नेपालमा लुकेको शङ्का गरेका खालिस्तानी नेता अमृतपाल को हुन् ?

    काठमाडौं- भारतमा निकै विवादित बनेका खालिस्तानी पृथकतावादी नेता अमृतपाल सिंह नेपालमा लुकेर बसेको काठमाडौंस्थित भारतीय दूतावासले दाबी गरेको छ । भारतीय सुरक्षा एजेन्सीको सर्वाधिक खोजीको सूचीमा रहेका सिंह पछिल्लो समय पञ्जाबबाट भागेर नेपाल आएको दूतावासको दाबी छ ।

    शिखहरूका लागि पञ्जाबमा छुट्टै देश ’खालिस्तान’ बनाउने अभियानमा रहेका सिंहलाई पक्राउ गर्ने भारतमा खोजी अभियान गरेपछि उनी लुक्दै आएका छन् ।

    उनलाई नेपाल छोडेर “अन्यत्र जान नदिन“ भारतले नेपाली पक्षलाई पत्राचार गरेको छ। काठमाण्डौं स्थित भारतीय दूतावासले कूटनीतिक संयन्त्रमार्फत् सिंह नेपालमा लुकेको हुनसक्ने भन्दै खोजी गरिदिन आग्रह गरेको छ ।

    उनन्तीस वर्षीय सिंह सिख स्वायत्त राज्य (खालिस्तान) स्थापना गर्ने उद्देश्य राख्ने ‘वारिस पञ्जाब दे’ सङ्गठनका प्रमुख हुन्। पृथक्तावादी अभियानलाई चर्काउन खोजेको आशङ्कामा भारतले उनलाई निगरानीमा राख्दै आएको थियो।

    पञ्जाबमा प्रहरीले जालन्धरको शाहकोट क्षेत्रमा छापा मार्दै खोजी गर्दा समेत उनी पक्राउ पर्न नसकेपछि सिंहको अहिले व्यापक खोजी भइरहेको छ। पञ्जाबमा उनका धेरै समर्थकहरू पक्राउ परेका छन्।
    पञ्जाब प्रहरीका अनुसार ’वारिस पञ्जाब दे’का कार्यकर्ताहरूविरुद्ध चारवटा मुद्दा लगाइएको छ।

    उनीहरूविरुद्ध समाजमा अस्थिरता सिर्जना गरेको, योजना बनाएर हत्या गरेको, प्रहरीमाथि आक्रमण गरेको र सरकारी कर्मचारीको काममा बाधा पु¥याएको जस्ता अभियोग लगाइएको छ।

    सिंहको मूल थातथलो पञ्जाबको अमृतसर जिल्लामा छ। तर सन् २०१२ मा दुबई गएर उनी आफ्नो पारिवारले चलाएको यातायात व्यवसायमा संलग्न भएका थिए।

    उनको लिङ्कड्इन प्रोफाइलमा सिंहले पञ्जाब विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङको डिग्री लिएको उल्लेख छ। उनको लोकप्रियता लामो समयसम्म सामाजिक सञ्जालमा सीमित थियो।
    त्यहाँ व्यक्त उनका विचारमा सिख एकता र छुट्टै राज्यको भाव अभिव्यक्त हुन्थ्यो।

    गत वर्ष अगस्टमा उनी पञ्जाब फर्किए। अमृत सञ्चार र नसामुक्त आन्दोलनमार्फत् उनले युवाहरूलाई आफूतिर आकर्षित गरे।

    दुबईबाट भारत फर्कँदा उनी आफ्ना पुराना तस्बिरमा भन्दा स्पष्टसँग फरक शैलीमा देखिए। पहिला उनको कपाल र दाह्री चिटिक्क पारेर काटेको देखिन्थ्यो। नयाँ तस्बिरमा उनी सिख धार्मिक अभियानमा संलग्न कट्टर व्यक्तिजस्तै देखिए। त्यसको एक महिनापछि उनी ’वारिस पञ्जाब दे’का प्रमुख नियुक्त भए।

    उक्त सङ्गठन अभिनेता तथा अभियानकर्मी दीप सिधूले स्थापना गरेका हुन्। उनी किसानहरूको प्रदर्शनका क्रममा पक्राउ परेका थिए। गत वर्ष एउटा कार दुर्घटनामा परेर सिधूको मृत्यु भएको थियो।

    अमृतपाल सिंह पछिल्लो समय विवादित भाषणका कारण चर्चामा छन्। सिंहको भाषणमा जरनेल सिंह भिन्डरावाले र उनका कट्टरपन्थी विचारहरूको प्रतिबिम्ब झल्किन्छ।

    सन् १९८० को दशकमा भिन्डरावालेलाई भारत सरकारले अलग्गै सिख राज्यका लागि सशस्त्र विद्रोहको नेतृत्व गरेको आरोप लगाएको थियो। उनी सन् १९८४ मा भारतीय सेनाको विवादास्पद ’अपरेशन ब्लू स्टार’मा मारिएका थिए।

    केही साताअघि सिंहका समर्थकहरूले एउटा प्रहरी चौकीमा धावा बोलेका थिए

    सन् १९८० को दशकको अन्तिम र ९० को दशकको सुरुमा खालिस्तान पृथकतावादी आन्दोलन चरम रहेको थियो। भारतीय सुरक्षा निकायले दमन गरेपछि भारतभित्र उनीहरुको गतिविधि थिएन। विभिन्न देशमा भने पृथकतावादी अभियानका समर्थन रहेका थिए।

    ३० वर्षीय अमृतपाल सिंहले भारतभित्र खालिस्तानी पृथकतावादी अभियान पुनः जगाउने अभियान सुरु गरेको भारतीय सञ्चारमाध्यमहरूको दाबी छ। त्यसलगत्तै विभिन्न देशमा खलिस्तान समर्थकहरुको गतिविधि पनि बढेको छ।

    यसै साता बेलायतस्थित भारतीय दूतावासमा खालिस्तान समर्थकहरुले भारतीय झण्डा निकालेर खालिस्तानको झण्डा फहराएका थिए।

    ’पृथक्तावादी अभियान’
    अमृतपाल सिंहले सिखहरूका लागि छुट्टै राज्यको लागि आह्वान गर्दै त्यो पानीको विवाद, लागुऔषधको दुर्व्यसनदेखि पञ्जाबी संस्कृतिमा देखा परेको क्षयजस्ता पञ्जाबमा विद्यमान समस्याहरूको एक मात्र “स्थायी समाधान“ भएको दाबी गर्दै आएका छन्।

    सिंहका समर्थकहरूले गत महिना हिरासतमा रहेका उनका सहयोगीको रिहाइ माग गर्दै एक प्रहरी चौकीमा धावा बोल्दा त्यहाँ हिंसा भड्किएको थियो। अनियन्त्रित भिडमा रहेका क्रुद्ध मानिसहरूमध्ये धेरैले बन्दुक र तरबार बोकेका थिए। आफ्ना साथी रिहा हुने सुनिश्चित भएपछि मात्र त्यहाँबाट बाहिरिएका थिए।

    प्रहरी अधिकारीहरूले पछि दाबी गरेअनुसार उनीहरूले सिखहरूको पवित्र ग्रन्थ ‘गुरुग्रन्थ साहिब’लाई ढालका रूपमा प्रयोग गरेका कारण भिड नियन्त्रण गर्न कठिन भएको थियो।

    धेरैलाई चिन्तित पारेको अर्को विषय अमृतपाल सिंहको रूप पनि हो। उनको हाउभाउ र रूप अहिले जरनेल सिंह भिन्डरावालेको जस्तै देखिन्छ।

    भिन्डारेवालेको नेतृत्वमा झन्डै एक दशक चलेको विद्रोहका क्रममा हजारौँ मानिसहरूको मृत्यु भएको थियो। विद्रोहीहरूले मुख्य नेताहरूदेखि साधारण मानिसहरूलाई पनि निसाना बनाएका थिए।

    प्रहरी कारबाहीमा कैयौँ सिख युवाहरू समेत मारिए। पञ्जाबमा अझै त्यस हिंसाको त्रास पाइन्छ। -बिविसीबाट

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images