काठमाडौं- राजनीतिक अराजकता, महँगी, भ्रष्टाचार, बेथितिले नेपालीलाई सधै दुःखी बनाइ रहन्छ । तर खेलले हामी नेपालीलाई बेलाबखत खुसी दिन्छ । सम्पूर्ण नेपालीलाई एक सूत्रमा बाँध्छ ।
आइसिसी विश्वकप लिग २ को त्रिकोणात्मक एक दिवसीय शृङ्खलामा नेपालले युएईलाई पराजित गर्दा सबै नेपाली एक साथ खुसी भए । यो जितले विश्वकप खेल्ने सम्भावनालाई जीवीत राखेको छ । अब नेपालले विश्वकपको छनोट खेलमा प्रवेश पाएको छ ।
यो सँगै, खेल र राजनीतिको अर्को एक विरोधाभाष दृश्य पनि आज देखिएको छ ।नेपालको राजनीतिका लागि खेलकुद खास रोजाईको विषय होइन ।
खेलकुद कुनै मौसम विशेष वा प्रतियोगिता विशेषमा मात्रै ध्यान दिएर पार लाग्ने क्षेत्र होइन । वर्षैभर वा भनौं धेरै वर्षको मेहनतपछि मात्रै खलकुदमा सुखद नतिजा प्राप्त हुन्छ ।
अहिले क्रिकेट वल्र्डकप लिग २ को खेलका क्रममा नेपाली खेलपे्रमीहरुको ध्यान लिगका विभिन्न स्पर्धामा तानियो ।
लाखौंको ध्यान क्रिकेटमा गएको देखेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत खेल हेर्न त्रिवि मैदान पुगे ।
नेपाल र युएईबीचको क्रिकेट हेर्न बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) त्रिवि क्रिकेट मैदान पुगे । प्रधानमन्त्री प्रचण्ड आफ्नी छोरी रेणु दाहालसँगै नेपाली टिमको हौसला बढाउन भन्दै मैदानमा पुगेका थिए ।
त्यस्तै रास्पवाका सभापति रवि लामिछानदेखि राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीसम्म मैदानमा उपस्थित थिए । त्यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेसबुकमा पोष्ट गर्दै नेपाली टिमलाई शुभकामना दिएका थिए ।
वर्षैभर खेलसँग टाढा टाढाबाट पनि साइनो सम्बन्ध नराख्ने, अनि कुनै महत्वपूर्ण प्रतिस्पर्धामा चाहिँ ‘म पनि साथमै छु है’ भन्ने सन्देश छाडेर खेलको विकास हुँदैन । खेलको विकासका लागि राजनीतिक तहले पनि ठोस प्रतिबद्धता जनाउनु पर्छ ।


विश्व खबर 



















