images
images
  • नवनिर्वाचित राष्ट्रपति पौडेलको तीता अनुभव: गोल्छेकाे झापडदेखी प्रधानमन्त्रीमा १७ पटक पराजयसम्म

    काठमाडौं-२०५० साउन ६ गते राष्ट्रिय सभाको बैठक चलिरहेको थियो । हालको पुरानो संसद् भवनको नजिकको माथिल्लो तल्लामा त्यो बैठक थियो । राष्ट्रिय सभामा छलफलको विषय थियो-स्थानीय विकास मन्त्रालयको विनियोजनसम्बन्धी । रोस्टममा थिए सांसद गोल्छे सार्की । मन्त्री बस्ने लहरमा थिए-तत्कालीन स्थानीय विकास मन्त्री रामचन्द्र पौडेल । गोल्छे रोस्टममा चर्को स्वरमा बोल्दै गए, उनी बोल्दाबोल्दै रातोपिरो भएका थिए । मन्त्रीका लहरमा बसेका पौडेल भने गोल्छे चर्कंदै जाँदा मुसुमुसु हाँसिरहे ।

    आफू बोलिरहँदा स्थानीय विकासमन्त्री पौडेलले जिस्काएको भन्दै एकाएक रन्किए गोल्छे सार्की । अनी सरासर मन्त्री पौडेलका गालामा पाँच चड्कन लगाइदिए । संसद् बैठकमा खैलाबैला नै मच्चियो । हातपात गर्ने गोल्छे सार्कीमाथि कारबाही भयो उनी राष्ट्रिय सभाको सदस्यबाट १५ दिन निलम्बनमा परे ।

    उनलाई तत्कालीन स्थानीय मन्त्री रामचन्द्र पौडेलले जिस्काएको भनेर सार्कीले बताए । उनले झापड हान्दा यति मात्र सुनिएको थियो– हेप्ने ? त्यसपछि मर्यादापालकले घेरेका थिए । पौडेलले त्यसबेला के प्रतिक्रिया जनाए त्यो कसैले सुनेनन् ।तर सार्कीलाई कसरी उनले जिस्काए भन्नेचाहिँ कोही पनि संसद सदस्यले पता पाएनन् । पछि सार्कीले आफू नजिकका साथीभाइसँग अनौचारिक रूपमा भन्थे, ‘म जति चर्को स्वरमा बोल्छु तिनले त्यति मन्त्री बस्ने डेस्कको तलबाट हातका औँला छिराएर औँलो बनाउँदै जिस्काउँदै गए । मैले खप्न सकिनँ त्यसैले बजाइदिए ।

    ०५१ सालको मध्यवधि चुनावपछि उनी प्रतिनिधिसभाका सभामुख बने । उनी सभामुख बनेपछि गोल्छे सार्कीसँग धेरैले ठट्यौली गर्दै भन्थे, ‘मलाई पनि एक-दुई झापड लगाइदिनु न कतै रामचन्द्रजस्तो सभामुख वा अरू केही भइहालिन्छ कि, तपार्इंको हात कति मलिलो, त्यस्तो नभएको भए झापड खाएपछि रामचन्द्र कसरी सभामुख बन्थे ।’

    करिब तीन दशकसम्म संसदीय चुनावमा जीत हात पार्दै आएका पौडेलको राजनीतिक जीवनमा एउटा कालो धब्बाका रूपमा रहेको छ, प्रधानमन्त्री पदमा १७ पटकको पराजय । यद्यपि, यो कालो धब्बा लाग्नुमा उनी स्वयं जति जिम्मेवार छन्, त्योभन्दा बढी तत्कालीन संवैधानिक व्यवस्था जिम्मेवार छ । ०६७ साउनबाट सुरु भएको प्रधानमन्त्रीको चुनावमा कांग्रेसबाट पौडेल, एमाओवादीबाट प्रचण्ड र एमालेबाट झलनाथ खनालले संसद्मा उम्मेद्वारी दिएका थिए । तर, संवैधानिक प्रावधानअनुसारको मतसंख्या तीनै जनाले हासिल गर्न नसकेपछि सात पटकसम्म तीन जनाबीच प्रतिस्पर्धा भयो ।

    आठौँ प्रतिस्पर्धापछि प्रचण्ड प्रधानमन्त्रीको दौडबाट आफैँ बाहिर निस्किए । त्यसपछि पौडेलले खनालसँग १७ पटक प्रतिस्पर्धा गरे । यो चुनावी शृंखलाबाट कुनै परिणाम आउन नसकेपछि निर्वाचनसम्वन्धी नियमावली नै परिवर्तन गरियो । अर्को चरणमा झलनाथले बाजी मारे भने रामचन्द्रको प्रतिस्पर्धा खेर गयो । उनले प्रधानमन्त्रीको निर्वाचनमा १७ पटक हारेको अभियोग बोक्नुपरेको छ । शायदै नेपालको इतिहास र भावी इतिहासमा समेत यो धेरैले भोग्नु नपर्ला ।

    तर, उनले बिहीबार राष्ट्रपतिमा विजय हासिल गरिरहेको बेला धेरैले यो घटनाको सम्झना गर्छन् । १७ पटक हारेको १२ वर्षपछि पौडेल देशको सर्वोच्च पदमा पुगेका छन् । हिन्दू ग्रन्थअनुसार १४ वर्ष बनवासपछि रामचन्द्र फर्केर अयोध्याका राजा बनेका थिए । तनहुँका रामचन्द्र पनि १७ पटक प्रधानमन्त्री हारेको १२ वर्षपछि देशको सर्वोच्च कुर्सीमा फर्किएका छन् । त्यसैले अहिले भन्न सकिन्छ गोल्छेको झापड त यिनको प्रगतिको नर्सरी बनेको थियो । तर १७ पटक प्रधानमन्त्री हार्नुचाहिँ यिनको राजनीतिक जीवनमा सफलता झांगिनु हो । भनिन्छ, जसरी मान्छेको शरीरमा टुप्पी भन्दामाथि केही हुँदैन । त्यसैगरी नेपालको संविधानमा पदीय हिसाबमा राष्टपतिभन्दा माथि कोही हुँदैन । अहिले पौडेल गोल्छेको झापडदेखि शीतल निवासको गद्दीसम्म पुगेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images