झापा- विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मेची रंगशालामा शुक्रबार भएको खेलमा पाहुना टोली काउवार्न बजार प्रगति संघ, ढाका बंगलादेशलाई सडनडेथमा ९-८ ले पराजित गर्दै एपिएफ अन्तिम चारमा पुगेको हो । निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरीमा टुंगिएपछि खेल टाइब्रेकर हुँदै सडनडेथमा लम्बिएको थियो ।
अब एपिएफले फाइनल प्रवेशका लागि मछिन्द्र क्लबसँग आइतबार खेल्नेछ ।
सडनडेथमा काउवार्नका औङ गोल गर्न चुकेपछि पराजय व्यहोर्नुप¥यो । उनको प्रहारलाई एपिएफका गोलरक्षक एन्जल श्रेष्ठले बचाएका थिए ।
खेलमा सुरुवाती अग्रता भने काउवार्न बजार प्रगति संघ, ढाका बंगलादेशले लिएको थियो । खेलको २१ औँ मिनेटमा बंगलादेशका साएरले गोल गरे । उनले पेनाल्टी एरियाबाट गरेको प्रहारले जाली चुमाएको थियो ।
दोस्रो हाफपछि एपिएफ आक्रमक बन्यो । ७२ औँ मिनेटमा युवराज खड्काले गोल गर्दै खेललाई बराबरीमा फर्काए । काउवार्नका गोल किपर कोबिजबाट रिवाउन्स भएको बललाई उनले गोलमा परिणत गरे ।
शुक्रबारको खेलको प्लेयर अफ द म्याच एपिएफका गोलरक्षक एन्जल श्रेष्ठ घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । शनिबारको पहिलो सेमिफाइनल खेल संकटा क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।
नेपाल, भारत, भुटान र बंगलादेशको गरी १० टिम सहभागी गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने छ ।


विश्व खबर 


















