images
images
  • केपी ओली कप फुटबल प्रतियोगिताको उदघाटन खेलमा सातदोबाटो र नेपाल पुलिस भिड्ने

    काठमाडौं- आगामी फागुन ११ गतेदेखि हुन लागेको केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको उदघाटन खेलमा सातदोबाटो क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । आइतबार गरिएको ड्र अनुसार दोश्रो दिन फागुन १२ गते नेपाल आर्मी र न्युरोड टिम एनअरटीबीच खेल हुनेछ ।

    फागुन १२ गते नै हुने दोस्रो खेलमा मच्छिन्द्र क्लब र चर्च ब्वाइजबीच प्रतिस्पर्धा हुने छ । १३ गते केपी ओली फुटबल क्लब र जाउलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुने छ । यो प्रतियोगिता आयोजना गर्नकै लागि केपी ओली फुटबल क्लब गैरनाफामूखी संस्थाका रुपमा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता गरेको नेकपा एमालेको भ्रातृ संस्था युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले जानकारी दिए । उनले यही प्रतियोगिताका लागि केपी ओली फुटबल क्लबले खेलाडी र प्रशिक्षकसँग सम्झौता गरेको पनि बताए ।

    पहिलो र दोस्रो खेलको विजेताले १४ गते पहिलो सेमिफाइनल खेल्ने छन् । तेस्रो र चौथो खेलको विजेताबीच फागुन १५ गते खेल हुने छ । यी सबै खेल एन्फा कम्लेक्स सातदोबाटोमा हुने छन् । तर फाइनल खेल भने फागुन १७ गते दशरथ रंगशालामा हुने छ ।

    आयोजकका अनुसार प्रतियोगिताको केपी ओली कपको विजेताले १० लाख तथा उपविजेता टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई समान ५०÷५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

    आयोजकले प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार तथा हरेक खेलको म्यान अफ द म्याचलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने बताएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images