images
images
  • स्वार्थ मिल्नेसँग मात्र भेट्छन् मेयर बालेन !

    काठमाडौं- महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले कलाकार जल शाहसँग भेट गरे। जलले श्रीमान् र छोरी सहित मेयरलाई महानगर कार्यालयमा भेटेकी हुन्। अमेरिकामा बस्दै आएकी जल केही समयअघि नेपाल आएकी हुन्।

    गत जेठ १६ मा पद तथा गोपनियताको शपथ लिए लगत्तै मेयर बालेन नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मालाई भेट्न सैनिक मुख्यालय पुगेका थिए। सेनापतिलाई नभेटी नहुने के काम थियो भने चाहिं उनले सार्वजनिक गरेका छैनन्।

    गत स्थानीय निर्वाचनमा भोट दिएर जिताएका काठमाडौंका मतदाताले भने बालेनलाई भेट्न नपाएको गुनासो गर्दै आएका छन्। नगरी नहुने कामका लागि भेट्न खोज्दा पनि नपाएको उनीहरूको गुनासो छ।

    मेयर बालेनलाई भेट्न नपाउने मध्येका एक हुन, बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख अनुराधा कोइराला। माइती नेपालले काठमाडौं महानगरभित्र यौन व्यवसाय गर्दै आएका ३७५ जनालाई उद्धार गरी सडकपेटी तथा खाली ठाउँमा चटपटे, पानीपुरी, फलफूल, बदाम, पानी, चिया, मकै बेच्ने व्यवस्था गरिदिएको थियो। तर‚ महानगरले ती ठाउँमा यस्ता व्यवसाय गर्न रोक लगायो।

    महानगरको उक्त कार्यले उद्धार गरिएका महिलाहरू बिचल्लीमा परेको भन्दै माइती नेपालकी संस्थापक समेत रहेकी कोइरालाले मेयर साहसँग भेटेर छलफल गर्न चाहेकी थिइन्। तर‚ मेयरले कर्मचारीमार्फत उक्त विषय महिलासँग सम्बन्धित रहेकाले उपमेयर सुनीता डंगोललाई भेट्न आफूहरूलाई सुझाएको कोइराला बताउँछिन्।

    “मेयरसँग भेटेर मेरा नानीहरूबारे कुराकानी गर्छु भन्ने थियो। समय दिनुहोस् भनेर साथीहरूलाई महानगरपालिका पठाएकी थिएँ‚” उनले भनिन्‚ “मेयर बालेन्द्र साहले ‘यो त महिलाको कुरा भयो, मेयरसँग नभई उपमेयरसँग कुरा गर्नु’ भन्नुभएछ। मलाई दुखेको कुरा र भेट्न चाहेको त मेयरसँग हो नि१” मेयर भएपछि महानगरको समस्या लिएर जाँदा त्यसलाई सुन्दिनुपर्ने कोइराला बताउँछिन्।

    niff teamकलाकारको टोलीसँग मेयर साह

    महानगरको कदमले आफूहरूको हातमुख जोड्ने माध्यम नै गुमेको भन्दै अनौपचारिक व्यापार व्यवसाय गर्दै आएकाहरूले गत भदौ ७ मा मेयरलाई भेटेर ज्ञापनपत्र बुझाउन चाहेका थिए। तर‚ कार्यालयमै रहेका मेयर साहले व्यस्तता देखाउँदै आफूहरूलाई भेट नदिएको उनीहरू बताउँछन्।

    मेयरले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर काम गरेको बताउँछन् सम्पदा संरक्षण अभियन्ता सुमन सायमी। महानगरले सडकमा व्यापार गर्दै आएका साना व्यवसायीलाई ज्यादती गरेको तथा टुकुचाखोला उत्खनन्देखि अन्य काम पनि मनलाग्दी तरिकाले गरेको उनको जिकिर छ। सायमी भन्छन् “सडकपेटीमा मकै पोल्नेदेखि साना व्यवसाय गर्ने सबै अन्यायमा परेका छन्।”

    यस्ता विषयमा छलफल गर्न मेयर साहलाई फोन गर्दा फोन नउठाउने, कुनै प्रतिक्रिया नदिने, सरोकारवालाको कुरा नसुन्ने गरेको सायमीको भनाइ छ।

    महानगरले गत मंसीर १२ मा थापाथलीको सुकुम्बासी बस्तीमा डोजर चलायो। त्यो वेला नगरप्रहरी र सुकुम्बासीबीच झडप भयो। त्यसको भोलिपल्ट सुकुम्बासीहरू मेयर साहलाई भेटेर ज्ञापनपत्र बुझाउन महानगर कार्यालय पुगे। तर‚ उनीहरूलाई पनि भेट दिएनन्।

    स्वच्छ‚ सुन्दर‚ सफा बनाउने अभियान चलाएको काठमाडौ महानगरपालिकाले सडकपेटी‚ खुला ठाउँमा व्यापार‚ व्यवसाय गर्न रोक लगाएको छ। यस्तै‚ अनाधिकृत संरचना पनि हटाउँदै आएका छन्। देशको अर्थतन्त्रमा ठूलो योगदान पु¥याउने अनौपचारिक व्यवसाय गर्नेहरूलाई व्यवस्थित गर्नको साटो उनीहरूलाई लखेटेको आरोप मेयरमाथि छ।

    balenपब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपमा सहभागी नेपालको टोलीलाई स्वागत गर्न विमानस्थल पुगेका मेयर साह।

    महानगरले खुलामञ्च रहेको क्षेत्रमा भूमिगत पार्किङ बनाउने योजना बनाएको भन्दै स्थानीवासी र संरक्षण अभियन्ताहरूले विरोध गर्दै आएका छन्। यसै विषयमा गत पुस १८ गते उनीहरू मेयरलाई ज्ञापनपत्र बुझाउन महानगर कार्यालय पुगेका थिए। तर‚ मेयर साहले भेट्न अस्वीकार गरे।

    यस्तै‚ टुकुचामा डोजर चलाएको वेला पनि स्थानीयहरू मेयरलाई भेट्न कार्यालय पुगेका थिए। उनीहरूलाई पनि भेट दिएनन्। “मेयरले आफ्ना आसेपासे बाहेक अरूलाई भेट्दैनन्।

    भेटे पनि कुरा सुन्दैनन्। मेयरको नियत नै खराब छ‚” अकुपाई टुँडिखेलका अभियन्ता आलोक मानन्धर भन्छन्‚ “मेयरले रजाईं गर्ने खालको प्रवृत्ति देखाइरहेका छन्। सरोकारवालासँग सल्लाह नगरी मनलाग्दी योजना ल्याउन पाइँदैन।” महानगरलाई निवेदन, इमेल गर्दा समेत कुनै प्रतिक्रिया नआएपछि आफूहरू कार्यालयमै पुगेको मानन्धर बताउँछन्।

    असार २८ गते कृष्ण मल्ल, अशोक शर्मा, निर्मल शर्मा, दीपा श्री निरौला, निश्चल बस्नेत, रविन्द्र खड्का लगायत कलाकारसँग महानगरको कार्यलयमा भेटे गरेका थिए।

    आफू व्यस्त रहेको बताउँदै आएका मेयर साह मोबाइल गेम पब्जीको अन्तर्राष्ट्रिय प्रतियोगिता ‘पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप’ को फाइनलमा पुगेका टोलीलाई हौसला दिन भन्दै इण्डोनेसिया पुगेका थिए। प्रतियोगितामा दोस्रो भएका टीम डीआरएस नेपाल फर्किंदा उनीहरूको स्वागत गर्न पुस २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै पुगेका थिए। -हिमाल खबरबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images