images
images
  • भारतको सर्वोच्चले फैसलाबाट हटायो सिक्किमका नेपालीलाई विदेशी भनिएको अंश

    काठमाडौं- भारतको सर्वोच्च अदालतले आफ्नो एक फैसलामा सिक्किमका नेपालीलाई विदेशी मूलका भनी लेखिएको अंश हटाएको छ।

    द स्क्रोलका अनुसार सिक्किममा आयकर छुटसम्बन्धी गत महिना गरिएको एक फैसलामा सिक्किमका नेपाली समुदायलाई विदेशी मूलका भनी गरिएको व्याख्या सर्वोच्चले बुधबार हटाएको हो।

    सर्वोच्चले सुरूको रिट निवेदनमा उक्त शब्द त्यसरी नै उल्लेख भएकाले फैसलामा पनि समावेश हुन पुगेको बताएको छ।

    सिक्किमका नेपाली समुदायलाई विदेशी मूलका भनेर सर्वोच्चको फैसलामा लेखिएपछि सिक्किममा यसको तीव्र विरोध भएको थियो। त्यहाँको नेपाली समुदायले प्रदर्शनसहित सिक्किम बन्दको समेत आह्वान गरेका थिए।

    सिक्किम सरकारले सर्वोच्चको फैसलाको उक्त अंश पुनरावलोकन गर्न निवेदन दिएको थियो। पश्चिम बंगालको दार्जिलिङसहितका क्षेत्रमा पनि नेपाली समुदायले विरोध र प्रदर्शन गरेका थिए।

    सन् १९७५ मा भारतमा विलय भएको सिक्किममा नेपालीभाषीको जनसंख्या उल्लेख्य छ। सिक्किममा अहिलेसम्म बनेका ६ जना मुख्यमन्त्रीमध्ये ५ जना नेपाली समुदायका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images