काठमाडौं- नेपाल आयल निगमका अनुसार भारतबाट इन्धनको नयाँ मूल्य बढेर आएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी)बाट मंगलबार बेलुकी निगमलाई प्राप्त नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेर आएको छ ।
पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल प्रतिलिटर ७ रुपैयाँ ९८ पैसाले थप महँगो भएको निगमले जनाएको छ ।
त्यस्तैगरी मट्टितेलको मूल्य लिटरमा ४ रुपैयाँ ८० पैसाले बढेको छ भने हवाइ इन्धन लिटरमै ७ रुपैयाँ ५० पैसाले बढेर आएको छ ।
तर खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ। प्रतिसिलिन्डर ७५ रुपैयाँ घटेर आएको निगमले जनाएको छ।
भारतबाट नयाँ मूल्य आए पनि नेपालमा उपभोक्ता मूल्य तोक्नेबारे निगम बोर्ड बैठकले निर्णय गर्नुपर्ने हुन्छ ।
अब निगमको १५ दिनको घाटा ५५ करोड घाटा हुने निगमको भनाइ छ। हरेक १५ दिनमा नयाँ मूल्य कायम हुने नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेसनको सम्झौता छ।






















