काठमाडौं- नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय टिमका सदस्यहरूको वर्गीकरण गरेको छ । पोखरामा भएको कार्यसमितिको बैठकले जनवरीदेखि जुनका लागि १८ पुरुष र १२ महिला खेलाडीलाई करारमा राख्ने निर्णय गरेको हो ।
पुरुष र महिला खेलाडीको वर्गीकरण गरेको क्यानले बलात्कार आरोपमा राष्ट्रिय टिमको पूर्व कप्तान सन्दीप लामिछानेलाई भने समेटेको छैन ।
क्यानले गरेको पुरुष वर्गीकरणको ग्रेड ‘ए’मा रोहित पौडेल, सोमपाल कामी, करन केसी, दीपेन्द्रसिंह ऐरी र आशिफ शेख परेका छन् । साथै ग्रेड ‘बी’मा आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल पर्दा ग्रेड ‘सी’मा कमलसिंह ऐरी, विनोद भण्डारी, गुल्शन झा, अर्जुन साउँद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव परेका छन् ।
यस्तै महिलातर्फ ग्रेड ‘ए’मा रुविना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा छन् भने ग्रेड ‘बी’मा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्यलाई क्यानले समेटेको छ ।
साथै ग्रेड ‘सी’मा कविता जोशी, विन्दु रावल, सङ्गीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगमलाई राखिएको छ।


विश्व खबर 


















