काठमाडौं-आफ्नै प्रेमिकाले विहेकाे प्रस्ताव अस्विकार भएपछि सिभिल मलमा एक युवाले शरिरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन् ।
(आज) बिहीबार बिहान ११ः५५ मा सुन्धरास्थित मलको भुइँतलामा २९ वर्षीय बिसन गुरुङले शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए।
प्रहरीका अनुसार गुरुङ केही महिनायता एक युवतीसँग प्रेममा थिए। युवती मलस्थित सपिङ सेन्टरमा काम गर्थिन्। केही समय यता अस्वाभाविक व्यवहार देखाएपछि युवती गुरुङसँग टाढा हुने कोसिसमा थिइन्। गुरुङले पछिल्लो समय युवतीलाई नियमित पछ्याउने, टेलिफोन गरेर धम्क्याउनेलगायतका गतिविधि नछाेडेपछि गुरुङबाट ती युवती टाढा हुँदै गएकी थिईन् ।
उनका का ती क्रियाकलापबाट आजित बनेकी युवतीले पछिल्ला दिन उनलाई वास्ता गर्न छाडेकी थिइन्। यही क्रममा उनी बिहीबार बिहान बोतलमा पेट्रोल लिएर मल पुगेका थिए। युवतीले भेट्न नमानेपछि उनी सरासर मलको भुइँतलामा पुगे र बोतलको पेट्रोल शरीरमा खन्याई आगो लगाएका थिए।
प्रहरीका उनलाई मलका सुरक्षा गार्डले उद्धार गरेका थिए। मलको भुइँतलामा आगोमा दन्किरहेको युवक देखेपछि सुरक्षा गार्ड उद्धारमा खटिएका थिए। उनलाई उपचारका लागि तत्काल ट्रमा सेन्टर पठाइएको थियो।
ट्रमामा उपचार सम्भव नभएपछि उनलाई कीर्तिपुर मोडेल अस्पतालमा रिफर गरिएको थियो। प्रहरीका अनुुसार उनको शरीर तथा अनुहारका विभिन्न भाग जलेका छन्। उपचाररत उनको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।
घटना सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी निदेश मैनालीले उनको उपचार भइरहेको हुँदा घटना सम्बन्धमा सोधपुछ गर्न बाँकी रहेको बताए।
उनले भने, ‘बिहान एक युवाले सिभिल मलको भुइँतलामा आत्मदाह गरेको सूचना आयो। प्रहरी उद्धारमा खटियो। उनको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको सूचना छ। आगो लगाउनुको विषय भने खुलिसकेको छैन। प्रहरी अनुसन्धान जारी छ।’






















