images
images
  • क्यानमा फर्किदै सन्दिप लामिछाने

    काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वकप्तान सन्दीप लामिछानेलाई प्रशिक्षणमा बोलाउने भएको छ । आइसिसी विश्वकप लिग–२ शृंखलाअन्तर्गत क्लोज क्याम्पमा समाबेश गर्न क्यानले बोलाएको हो ।

    फागुनमा नेपालले स्कटल्यान्ड र नामिबियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ । नेपाल लिगको अंक तालिकामा १८ अंकका साथ छैटौँ स्थानमा छ । क्यानले स्कटल्यान्ड र नामिबियाविरुद्धको खेलका लागि केही दिनभित्र क्लोज क्याम्प सुरु गर्दै छ । सो क्लोज क्याम्पमा सन्दीपलाई समावेश गर्ने क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले जानकारी दिएका छन् ।

    ‘एक वा दुई दिनभित्र हामी क्लोज क्याम्प सुरु गर्दै छौँ, क्याम्पमा सन्दीप पनि समावेश हुनेछन्,’ मल्लले भने, ‘त्यहाँ गरेको प्रदर्शनअनुसार नेपाली टोलीको घोषणा हुनेछ ।’ पाटनको उच्च अदालतले गत साता बलात्कार आरोप खेपिरहेका सन्दीपलाई २० लाख धरौटीमा रिहा गर्न फैसला दिएको थियो । धरौटीमा रिहा भएपछि सन्दीप राष्ट्रिय टोलीमा समावेश हुने वा नहुने प्रश्न उब्जिएको छ ।

    उच्च अदालतको फैसला आएको दिन क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई राष्ट्रिय टोलीमा हुनुपर्ने खेलाडीका रूपमा जनाएका थिए । ‘सन्दीप फिट छन् वा छैनन्, त्यसमा निर्भर पर्छ,’ चन्दले भनेका थिए, ‘हामी सन्दीपलाई टोलीमा राख्छौँ ।’ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले सन्दीपलाई राष्ट्रिय टोली वा क्लोज क्याम्पमा समावेश गर्न केही बाधा नगर्ने क्यानका कार्यवाहक सचिव मल्लले बताएका छन् ।

    ‘आइसिसीले हामीलाई यहाँको कानुनअनुसार अगाडि बढ्न भनेको छ,’ मल्लले भने, ‘आइसिसीले भनेको अनुसार र यहाँको कानुनी प्रक्रियाअनुरूप सन्दीपलाई प्रशिक्षणमा बोलाउँछौँ ।’ राष्ट्रिय क्रिकेट टोलीलाई योगदान गरेका एक प्रतिभाशाली खेलाडीलाई प्रशिक्षणबाट वञ्चित गर्न नहुने भनाइ उनको छ ।

    सन्दीपजत्तिको खेलाडीलाई क्लोज क्याम्पबाट बाहिर राख्न नसकिने र एक हिसाबले उनी टोलीमा हुनुपर्ने खेलाडीमा पर्छन्,’ मल्लले भने, ‘क्लोज क्याम्पको प्रदर्शनअनुसार सन्दीप टोलीमा रहने वा नरहने कुरा आउँछ ।’ वल्र्ड डिभिजन–२ को तयारीका निमित्त क्यानले राष्ट्रिय खेलाडीहरूलाई अभ्यास खेलमा सहभागी गराइराखेको छ । ‘हामीले खेलाडीहरूलाई तयारीमा राखेका छौँ,’ मल्लले भने ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images