images
images
  • नेपाली निर्माण बजारमा पनि चिनियाँ दबदबा

    काठमाडौं- नेपालमा बढिरहेको चिनियाँ उपस्थिति यहाँको विकास निर्माणमा सबैभन्दा बढी देखिएको छ । पछिल्ला वर्षहरुमा नेपालमा चिनियाँ ठेकेदारहरुले सबैभन्दा बढी नेपाली आयोजना निर्माणको ठेक्का लिएको भेटिएको छ । अर्थात् नेपालका कयौं ठूलो आयोजनाहरु चिनियाँ ठेकेदारको हातमा पुग्ने गरेका छन् ।

    भूकम्पपछिको पूननिर्माणका क्रममा चिनियाँ ठेकेदारलाई जिम्मा दिइएको कतिपय आयोजनाहरुबारे प्रश्न समेत उठेका थिए । यसमध्ये ऐतिहासका दरबार हाइ स्कूल पुननिर्माण गरेको चिनियाँ ठेकेदार कम्पनीले चीनबाटै अधिकांश कामदार पनि ल्याएको थियो । नेपालमै काम भइरहेको आयोजनामा नेपाली कामदारहरुले काम नपाएर चिनियाँहरु मात्रै काममा लगाइएको भन्दै आमसर्वसाधारणले असन्तुष्टि पोखेका थिए । यसैगरी बसन्तपूर दरबार क्षेत्रको नौतले दरबार पुननिर्माणका क्रममा पनि स्थानीयले चर्को असन्तुष्टि व्यक्त गरेका थिए ।

    चिनियाँहरुले ठेक्का लिएका आयोजनामा चिनियाँ ठेकेदारहरुले उतैबाट कामदार ल्याउने, चिनियाँ झण्डा फहराउँदै सामान्य नेपालीलाई प्रवेश समेत नदिने गरेको पाइन्छ । सरकारले घोषणा गरेको राष्ट्रिय गौरवका आयोजनाहरुमा चिनियाँ ठेकेदारहरुको दबदबा छ ।

    पछिल्लो समय नेपालको सडक निर्माण, विभिन्न विमानस्थल निर्माण तथा रेलमार्ग निर्माणका लागि चिनियाँ पक्षले चासो देखाउँदै ठेक्का पनि पाएका छन् । जसका काराण चिनियाँ पक्षले लाभ मात्रै नलिइ विस्तारै नेपाली विकास निर्माणमा पनि हस्तक्षेप बढाउँदै लगेको विज्ञहरु बताउँछन् । पूर्वाधारविज्ञ सूर्यराज आचार्य भन्छन्, ‘चिनियाँ पक्षले नेपालमा आधाुनि विकास निर्माणमा सहयोग गरेको छ । तर, नेपालमा निर्माण भइरहेका विकास आयोजनाबाट नेपालीहरुले लाभ नै लिन सकेनन् । नेपालमा विकास आयोजनाहरु बढिरहँदा त्यही निर्माण क्षेत्रमा काम गर्नेहरु विदेशिनु परेको छ । यसले के प्रष्ट पार्छ भने, नेपाललाई गरेको सहयोगबाट चीन स्वयंले पनि परोक्ष लाभ लिइरहेको छ ।’

    चिनियाँ निर्माण कम्पनीहरु लागत, प्रविधि र गुणस्तरका लागि विश्व बजारमै विश्वसिला मानिन्छन् । जसका कारण अहिले चीनका कम्पनीले युरोपमा पनि यस्ता ठेक्का हात पारिररहेको विज्ञहरु बताउँछन् । अहिले नेपालमा विदेशी ठेकेदार सहभागी हुने प्रायः सबै ठेक्कामा चिनियाँ ठेकेदारहरुको दबदबा छ । नपाली विकास बजेटको ठूलै हिस्सा चिनियाँ कम्पनीहरुले खर्च गर्छन् र नाफा उनिहरुकै स्वदेश लैजाने गरेको विज्ञहरु बताउँछन् ।

    सडक आयोजनामा चिनियाँ दबदबा

    नेपालमा बनिरहेका अधिकांश ठूला आयोजनामा चिनियाँ निर्माण कम्पनीहरुकै जिम्मा छन् । पछिल्लो समय एसियाली विकास बैक (एडीबी)को लगानी सहयोगमा निकालिएका पछिल्ला ठूला पाँचवटा आयोजना निर्माण कार्य चिनियाँ कमपनीहरुले नै गरिरहेका छन् ।

    नारायणगढ–बुटवल सडक विस्तारका दुइ वटा आयोजना चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको हातमा छन् । करिब १५ अर्ब रुपैयाँमा पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक बिस्तारका लागि दाउन्ने–नारायणगढ ६५ किमि र दाउन्ने–बुटवल ५० किमि गरि १ सय १५ किलोमिटरको आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का दिइएको हो ।

    यस्तै पूर्व–पश्चिम राजमार्गकै कमला–कञ्चनपुरको दुइवटा ठेक्का पनि चिनियाँ कम्पनीले पाएको छ । चाइना रेलवे नम्बर २ इन्जिनियरिङ कर्पोरेसन लिमिटेड छेन्दुले कञ्चनपुर–कुशाहा ४० किमि र कुशाहादेखि कमला ४७ किमि गरी दुई प्याकेजको सडक निर्माण पनि गरिरहेको छ । चाइना रेलवेले दुइवटै प्याकेज गरी उक्त आयोजना करिब १९ अर्बमा काम गरिरहेको हो ।
    यस्तै मुग्लिन–पोखरा सडक बिस्तार पनि चिनियाँ कम्पनीले नै पाएको छ। आयोजनाको पूर्वी खण्डको लम्बाइ ४१.४५ किमिमा काम गर्न चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनी लिमिटेडले निर्माण गरिरहेको छ । उक्त कम्पनीले कम ६ अर्ब २१ करोड रुपैयाँमा आयोजना ठेक्का पाएको हो ।

    विमानस्थल निर्माणमा चिनियाँ

    राष्ट्रिय गौरवको आयोजनाहरुमा पनि चिनियाँ निर्माण कम्पनीहरुको दबदबा नै छ । भर्खरै सञ्चालनमा आएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पनि चिनियाँ कम्पनीले गरेको हो । सन् २०१७ नोभेम्बरबाट निर्माण सुरु भएको सन् २०१४ को मे ३१ मा नागरिक उड्डयन प्राधिकरण र ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच निर्माणको ठेक्का सम्झौता भएको हो । विमानस्थल निर्माणका लागि २०१६ मार्च २१ मा नेपाल र चीनको एक्जिम बैंकबीच ऋण सम्झौता भएपछि उक्त बैंकले २०१७ मे ३१ बाट ऋण प्रवाह गरेको हो । झण्डै २२ अर्ब रुपैयाँ लागतमा सुरु भएको उक्त आयोजना भर्खरै मात्रै निर्माण कार्य सम्पन्न भएको हो ।

    अर्को ठूलो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा पनि चिनियाँ निर्माण कम्पनी नै रहेको छ । भैरहवास्थित उक्त विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्ट्रक्सन गु्रपले विसं २०७१ माघ १ देखि सुरु गरेको थियो । एडिबीको आर्थिक सहयोगमा ६ अर्ब २२ करोडको लागतमा सुरु भएको उक्त आयोजना निर्माण गरेको छ ।

    अन्य ठूला परियोजनामा पनि चिनियाँ

    लामो समयदेखि अत्यधिक चर्चामा रहेको मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य पनि चिनियाँ ठेकेदार कम्पनीले नै अन्तिम चरणमा पु¥याएको छ । लामो समयदेखि विवाद र चर्चामा रहेको उक्त आयोजनामा चिनियाँ कम्पनीको प्रवेश भने दोस्रो पटक भएको हो । सुरुङ निर्माणका लागि पहिलोपटक पनि एउटा चिनियाँ कम्पनीले ठेक्का लिएको थियो ।
    उक्त कम्पनीले लामो समयसम्म काम अगाडि नबढाएपछि इटालियन कम्पनी सिएमसीले ठेक्का पाए पनि लामो विवादपछि उक्त कम्पनीले पनि आयोजनाबाट बाहिरनुप¥यो ।

    अन्त्यमा आयोजना अलपत्र परेको बेला २०७५ सालमा पुुनः अर्को चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले सुरुङ निर्माण गरेको हो । यद्यपि कम्पनीले काम सक्न केही समय बाकी छदै आएको बाढीले आयोजना फेरि अलपत्र परेको छ । ३५ अर्ब भन्दा बढी खर्च भइसकेको मेलम्ची खानेपानी आयोजनामा पनि एडिबीले सहयोग गरेको हो ।

    स्वदेशी लगानीको सबैभन्दा ठूलो माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण पनि चिनियाँ निर्माण कम्पनीले नै गरेको हो । आयोजनाको निर्माण कार्य अन्तिम चरणमै रहेका बेला गत असारमा उद्घाटन भएको उक्त आयोजना झण्डै ८० अर्बको लगानीमा बनेको हो । उक्त आयोजनाको बाँध, मुहान, सुरुङ, विद्युतगृह लगायत सिभिल संरचनाको निर्माण गर्ने गरी चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले १३ अर्ब ८६ करोड रुपैयाँमा जिम्मा लिउको थियो ।

    अर्को चर्चित आयोजना भेरी बबइ डाइभर्सन निर्माणको जिम्मा पनि चिनियाँ निर्मण कम्पनीले नै पाएको थियो । नेपाली निर्माण इतिहासमै समयावधि सकिनुभन्दा एक वर्षअघि नै पहिलो चरणको निर्माण अर्थात् आयोजनाको सुरुङको गरी बे्रक थु्र गर्न सफल भएको उक्त आयोजनाको सुरुङ निर्माण चीनको सीआइसी र चाइना इञ्जिनियरिङ ओभरसिज प्रालि (कोभेक)को संयुक्त निर्माणमा सम्पन्न भएको हो ।

    साढे १० अर्बको लागतमा सुरुङको निर्माण भएको हो । आयोजनाको बाँकी काम हेडवक्र्स, पावरहाउस लगायतका संरचना निर्माणको काम पनि चिनियाँ कम्पनीसँगै एक नेपाली कम्पनीले गरिरहेको छ । चीनको ग्वाङ्डोन युनाटियन र नेपाली कम्पनी चीनको रमणले बाँकी काम गरिरहेका छन् ।

    प्रविधि निर्माणमा पनि चिनियाँ

    पछिल्लो समय फैलिरहेको प्रविधिको विकासमा पनि चिनियाँहरुको दबदबा रहेको देखिन्छ । नेपालमा तिब्र गतिमा विस्तार भइरहेको फोरजी सोमा पनि चिनियाँ कम्पनीहरुले काम गरिरहेका छन् ।देशभरी फेरजी सेवा विस्तारका लागि नेपाल सरकारले १८ अर्ब खर्च गरेको छ । यसको अधिकांश हिस्सा चिनियाँ कमपनीले पाएका छन् । फोरजी सेवाका लागि आवश्यक पर्ने कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क जडानका लागि चिनियाँ कम्पनी जेडटिई कर्पोरेशन र हङकङको सिसिएस कम्पनीले काम गरेका हुन् ।

    यस्तै फोर जी सेवा विस्तारका लागि अप्टिकल फाइबर बिछ्याउनमा मध्यपहाडी राजमार्गको पूर्व–पश्चिमसम्ममा विभिन्न चरणमा अप्टिकल भाइबर बिछ्याइरहेको छ । नेपाल दूर सञ्चारप्राधिरकणले करिब १० अर्बको लगानीमा गरिरहेको उक्त काममा चाइना कम्युनिकेशन सर्भिस सिसिएसआइ, सिटिएस कम्युनिकेन लगायतका कम्पनी छन् ।

     

    यो पनि हेर्नुहोस् ।

    बढ्दो चिनियाँ हस्तक्षेपः कसरी फैलाउँदैछ जालो

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images