images
images
  • आफैले गरेको भुलको पश्ताचापमा लप्सीफेदी, लिइसकेको ५० करोड फिर्ता गर्न आन्दोलनमा

    काठमाडौं – राजधानी उपत्यकाबाट उत्तर पूर्वी डाँडा जर्सिङपौवाबाट उत्तरतर्फको गाउँ केही वर्षअघिसम्म आफ्नै लयमा थियो । बिगत केही वर्षदेखि जर्सिङपौवा डाँडाबाट हेर्दा सुन्दर गाउँको बीचमा ठूलो खेल मैदान जस्तो देखिन्छ । काठमाडौं जिल्लाको शंखरापूर नगरपालिका वडा नम्बर ३ तथा साविकको लप्सीफेंदी वडा नम्बर ४ को बोजिनी, कुलामूनी हो त्यो सुन्दर गाउँ । काठमाडौं जिल्लामा नै रहेर पनि सुदूर परेको उक्त गाउँको आफ्नै चाल चलन संसार र आफ्नै पहिचान थियो । तर आजभोली भने गाउँमा अशान्ति मडारिएको छ ।

    त्यहाँबा बालबालिका, युवा र बृद्धबृद्धाहरू निकै बिद्रोही बनिरहेका छन् । उनिहरू आफैले गरेको गल्तीमा पश्ताचाप गर्दै आफूलाई धोका दिइएको बताउँदै भन्छन्, ‘हामी केही वर्षअघि अन्जानमा गल्ती ग¥यौं । तर, अहिले थाहा पाइसकेका छौं । हामीलाई झुक्ब्याइएको रहेछ । अहिलेसम्म केन्द्र सरकारले हाम्रो आवाज सुनेन ।’ यही आवाजका साथ गाउँ यतिबेला आन्दोलनमय छ । गाउँको आन्दोलनमा स्थानीय सरकार वडा नम्बर ३ ले पनि संस्थागत रूपमै साथ दिइरहेको छ । गाउँको साझा आवाजले मागेको न्याय हो, ‘बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी र माथिल्लो तामाकोशी जोड्ने सबस्टेशनको स्थान सारिनुपर्छ ।’

    निर्माणको तयारीमा बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को नेपाल परियोजनाको शुरूवाती सवस्टेसन सोही गाउँमा बन्नेछ । तर, आधिकारिक रूपमा ठ्याक्कै विवादमा रहेको परियोजना भने माथिल्लो तामाकोशीको सबस्टेशन हो ।
    दक्षिणतिरबाट आउने माथिल्लो तामाकोशी प्रसारण लाइन त्यहाँसम्म आइसकेको छ । तर स्थानीयको विवादले आधारभूत काम समेत भइसकेको सवस्टेसनको काम अगाडि बढ्न सकेको छैन ।

    मुआब्जा समेत लिएर केही वर्षअघि अनुमति पनि दिइसकेका स्थानीय गत एक वर्षदेखि सवस्टेसन बनाउन नदिने अडानमा छन् । उनिहरू भन्छन्, ‘त्यतिखेर हतारहतारमा होटलमा लगेर मुआब्जा दिइयो । पछि बुझ्दा त हाम्रो गाउँ नै सखाप हुने कुरा हामीले थाहा पायौं । ’ यही विवादका कारण परियोजना बन्ने निश्चित भएर जग्गा अधिग्रहण पनि गरिसकेको उक्त स्थान अहिले सुनसान छ । परियोजना स्थलमा स्थानीयका बालबालिका खेल्ने र गाइभैँसी चराउने गर्छन् । काठमाडौं चक्रपथ (चाबहिल)बाट झण्डै ३५ किलोमिटरको दुरीमा रहेको सवस्टेसन बन्ने तयारीमा रहेको उक्त स्थान सार्नैपर्ने अडानमा नगरपालिका र वडाले निर्णय नै गरिसकेका छन् । जग्गाबाट मुआब्जा समेत लिइसकेका अधिकांश स्थानीयहरू मुआब्जा फिर्ता गर्न तयार छन् । उनिहरू जुनसुकै हालतमा पनि सो सवस्टेसनको स्थानान्तरणका लागि दबाब दिइरहेका छन् ।

    सवस्टेसन बनाउन नदिने भन्दै अपर तामाकोशी पिडित संघर्ष समिति पनि बनाइएको छ । समितिका सक्रिय सदस्य राजमान स्याङ्वो भन्छन्, ‘हामीलाई शुरुशुरुमा थाहा नै भएन । स्थानीयलाई होटलमा लगेर पनि मुआब्वा दिएको थियो मुआब्जा दिएको समेत सबैले पछि मात्रै थाहा पायौं । यो स्पष्ट रूपमा सबैलाई थाहा छ कि, यो एमसिसी सम्झौतामै उल्लेख भएको लप्सिफेंदी सवस्टेसन हो । यो जे सुकै स्वार्थमा भए पनि सवस्टेसन बनेमा यो गाउँ नै विस्थापित हुन्छ ।’

    पछिल्लो पटक भएको स्थानीय तहको चुनावमा सो वडाका अध्यक्ष बनेका सुर्यबहादुर तामाङ पनि आफूहरू जुनसुकै हालतमा पनि स्थानान्तरण गराइ छाड्ने बताउँछन् । उनी भन्छन्, ‘हाम्रो माग निर्विकल्प हो । सवस्टेसन यहाँबाट स्थानान्तरण गर्नैपर्छ । स्थानान्तरण हुन्छ भन्ने विश्वाश पनि छ । जबरजस्ती काम भयो भने सरकारले जनता केही होइन भन्ने सोच्छ भन्ने बुझ्नुपर्छ । त्यसो भएमा हाम्रो न्यायका लागि अर्को बाटो खोजौंला ।’

    तर, नेपाल विद्युत प्राधिकरण र एमसिसी परियोजन भने जुनसुकै हालतमा पनि स्थानान्तरण हुन नसक्ने बताउँछन् ।
    सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको माथिल्लो तामाकोशी जलविद्युत आयोजना अन्तरगतको प्रसारण लाइन नेपाल विद्युत प्राधिरणको अगुवाइमै अगाडि बढेको हो । सरकारको उच्च प्राथमिकतामा रहेको उक्त तामाकोशी जलविद्युत् आयोजना निर्माण शुरु हुँदा गंगोर–खिम्ती २ सय २० केभी ४७ किलोमिटर लाइनमार्फत खिम्ती सबस्टेसनमा जोड्ने र त्यहाँबाट २ सय २० केभीकै खिम्ती–ढल्केबर लाइनमार्फत तराई पु–याउने योजना अघि सारिएको थियो । तर, पछि आएर उक्त लाइनले मात्रै नधान्ने देखिएपछि तामाकोशी, सुनकोशी नदी र तिनीहरुका सहायक नदीहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन लप्सीफेदीमा ४००/२२०, १३२/११ केभी सबस्टेसन निर्माण गर्न लागिएको नेपाल बिद्युत प्राधिकरणले जानकारी दिएको छ ।

    सवस्टेसनमा रामेछापको नयाँ खिम्तीबाट सुरु भई सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै लप्सीफेदीसम्मको ४०० केभी प्रसारण लाइन जोडिनेछ । उक्त प्रसारण लाइन निर्माणको अन्तिम चरणमा छ । लम्सीफेदी सबस्टेसनबाट भक्तपुरको चाँगुनारायणसम्मको १३२ केभी प्रसारण लाइन र सबस्टेसन निर्माणाधीन छन् । चाँगुनारायण १३२ केभी सबस्टेसन सम्पन्न हुने चरणमा छ ।
    नेपाल विद्युत प्राधिकरणले सवस्टेसन निर्माणका लागि चाहिने १७० रोपनी जग्गाको मुआब्जा २०७४ सालमा नै वितरण गरिसकेको छ । मुआब्जा बापत सहमतिमै स्थानीयले ५० करोड रुपैयाँ रकम लिइसकेका छन् । तर, पछि गएर स्थानीय आन्लोलनमा उत्रिदा काम अघि बढ्न सकेको छैन ।

    एसियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा निर्माण हुन लागेको नयाँ खिम्ती–काठमाडौं ४०० केभी तथा लम्सीफेदी–चाँगुनारायण १३२ केभी प्रसारण लाइन र चार वटा सबस्टेसनहरूमा गरी १८ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ ।

    विवादित लप्सीफेदी सवस्टेसनको ठेक्का सम्झौताको म्याद २०८० पुस १५ गतेसम्म छ । युअघि काम गर्न नसकेको भन्दै पहिलो ठेक्का सम्झौता रद्द गरिएको थियो ।

    संसदले अनुमोदन गर्न नसकी लामो विवादित बनेर कार्यान्यवयनमा आएको एमसिसी सम्झौतामा पनि बिद्यमान लप्सिफेदी सवस्टेसनमा जोडिने उल्लेख छ । एमसिसी कार्यान्वयनका लागि नेपालमा स्थापना भएको मिलेनियम च्यालेन्स अकाउण्ड विकास समितिको आधिकारिक वैवसाइटमा उल्लेख छ, ‘विद्युत् प्रसारण आयोजना अन्तर्गत तीन वटा नयाँ ४०० केभी क्षमताको इण्डोर ग्यास इन्सुलेटेड सब–स्टेशन (जीआईएस) निर्माण गरिनेछ ।

    नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा रातमाटे सब–स्टेशन, तनहुँ जिल्लामा नयाँ दमौली सब–स्टेशन र नवलपरासी पश्चिम जिल्लाको भुमहीमा नयाँ बुटवल सब–स्टेशन निर्माण गरिनेछ । निर्माणाधीन प्रसारण लाइन काठमाडौँ जिल्लाको लप्सीफेदी र मकवानपुर जिल्लाको नयाँ हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणका विद्यमान सब–स्टेशनहरूमा पनि जोडिनेछ ।’ एमसिसी नेपालले ‘बिद्यमान’ भनेको लप्सिफेँदी सवस्टेसनको पहिलो चरणमा लगानी गरिसकेकको जानकारहरू बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images