images
images
  • पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय !

    काठमाडौं-सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएको छ ।

    सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको थियो । सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक विदा दिने उल्लेख थियो । सो न्यूनतम साझा कार्यक्रमलाई सोमबारकै मन्त्रिपरिषद बैठकले पारित गरेको छ ।

    गोरखाका राजा पृथ्वीनारायण शाहले नेपालको भौगोलिक रुपमा एकीकरण गरेका थिए । उनको जन्मजयन्तीको अवसरमा विगतमा नेपालमा सार्वजनिक बिदा दिने प्रचलन रहे पनि २०६२-०६३ को जनआन्दोलनपछि बिदा दिन छाडिएको थियो ।

    यसवर्ष सरकार निर्माणका लागि महत्वपूर्ण घटक राप्रपाले सरकारलाई समर्थन दिन र सरकारमा सहभागी हुन २७ पुसमा सार्वजनिक विदा दिनुपर्ने अडान नै राखेको थियो । जसलाई सरकारले स्वीकार गरेको हो । सात दलीय गठबन्धन सरकारमा जानका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गते सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै आएको थियो। राप्रपाले पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसमा मनाउनुपर्ने शर्त राखेको थियो।

    प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरिसकेको अवस्थामा राप्रपाले न्यूनतम् साझा कार्यक्रम, कम्तीमा तीन मन्त्रालय र पृथ्वी जयन्तीलाई राष्ट्रिय दिवसका रुपमा मनाउन नेकपा एमाले र माओवादी केन्द्र तयार हुनुपर्ने अडान राप्रपाले लिएको थियो।

    नेपाली कांग्रेसका सभापति एवम् तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रिपरिषद्ले १६ वर्षअघि गरेको निर्णय उल्ट्याएर पृथ्वीनारायणको जन्मजयन्तीको दिन पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुपर्ने अडान आफूहरुले राखेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताएका थिए।

    सत्ता गठबन्धनका संयोजक केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदमा सहभागी हुन गरेको आग्रहको जवाफमा राप्रपाले यस्तो शर्त राखेको थियो। सरकार लचिलो भएसँगै राप्रपाले बागमती र प्रदेश १ सरकारलाई समर्थन गरिसकेको छ। प्रदेश १ मा राप्रपाका भक्ति सिटौला मन्त्री बनिसकेका छन्।यता बागमतीमा राप्रपाका भुवन पाठक संसदको सभामुख बन्दैछन्। केन्द्रमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बन्ने चर्चा छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images