
पोखरा- एमाले संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुरूले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि अधिकारीले ३३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पदको दाबी गरेका थिए ।
उनलाई एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र एक स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)को समर्थन रहेको छ। ६० सदस्यीय प्रदेश सभामा बहमुतका लागि ३१ सांसद आवश्यक पर्छ। अब गण्डकीमा २७ सांसद रहेको नेपाली कांग्रेस प्रतिपक्षमा रहेको छ।
मुख्यमन्त्री नियुक्त बनेपछि अधिकारीले केन्द्र र स्थानीय सरकारसँग समन्वय गर्दै प्रदेशको औचित्य सावित गर्ने बताए। मुख्यमन्त्री अधिकारीले भने, “मलाई असाधारण जिम्मेवारी आएको छ। परिस्थिति सामान्य बनाउने सबै राजनीतिक दलहरूबीच सहमति, सहकार्य गरेर अघि जान चाहन्छौं। समृद्ध गण्डकी, समुन्नत गण्डकी र सुसचित गण्डकी बनाउनका लागि केन्द्र र स्थानीय सरकारसँग समन्वय गर्दै प्रदेशको औचित्य सावित गर्नेछौं।”
एमालेका संगठन विभाग प्रमुख एवं स्थायी कमिटी सदस्य अधिकारी गण्डकीको मुख्यमन्त्री बन्ने लक्ष्यसहित कास्की १ ‘ख’ बाट प्रदेश सभाको चुनाव लडेका थिए।
सत्ता गठबन्धनको भागबण्डामा माओवादीले सभामुख पाउने भएको छ। माओवादीका कृष्ण धिताल सभामुख बन्ने सहमति बनेको छ।
अधिकारीले आजै मुख्यमन्त्री पदको सपथ लिने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
११ वर्षमै स्ववियू सभापति बनेका खगराज
पोखरा-३१ बेगनासमा २०१८ साल चैत १३ गते जन्मिएका अधिकारी गाउँकै आनन्द ज्योति माध्यमिक विद्यालयका वामपन्थी विचारका शिक्षकबाट प्रभावित भएर राजनीति थालेका थिए । निमावि पढ्दै गर्दा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियू०को सभापति बनेर राजनीतिक जीवनको खुट्किला चढ्न थालेका हुन् ।
‘म लोभ र कुर्चीको मोहले मुख्यमन्त्री बनेको होइन । म कुनै पनि दिन जनताको हित विपरीत जान्नँ । जनतालाई मन नपर्ने काम गर्दिनँ ।’ राजनीतिमा लागेपछि अधिकारीले थुप्रै पटक ज्यानकै बाजी थापे, कुटाइ र जेलनेल खाए । ‘सिक्किम भारतले लिएपछि २०३२ सालमा मैले बर्बरतापूर्ण कुटाइ खाएँ ।
भारतीय गोर्खा सैनिक हाइ स्कुल लेखिएको थियो, मैले रातारात रङ पोतेर मेटाइदिएँ,’ अधिकारी भन्छन्, ‘त्यही बेला मरणासन्न हुने गरी कुटाइ खाएँ, बाँच्नुजस्तो लागेको थिएन ।’ २०३६ सालयताका हरेक राजनीतिक आन्दोलनमा खगराजले कुनै न कुनै मोर्चाको नेतृत्वको गरेका छन् ।
अधिकारीले आफनो राजनीतिक जीवनको टर्निङ प्वइन्ट भने पृथ्वीनारायण क्याम्पस, पोखरामा स्ववियु सभापति हुनुलाई मान्छन् । २०४० सालमा पहिलो पटक स्ववियू सभापति भएका अधिकारी भन्छन्, ‘त्यतिबेलै धेरैको नजरमा परेँ, २ पटक सभापति भएर आफ्नो सम्भावना देखाएँ ।’ २०४२ सालको बमकाण्डमा प्रहरीले गिरफ्तार गरेर निर्मम याताना दिएको उनले अझै विर्सिएका छैनन् ।
२०४६ को जनआन्दोलन सफल भएसँगै खगराज संसदीय चुनावमा होमिए । ०४८ मा कास्की १ मा तारानाथ रानाभाटसँग पराजित भएका खगराजले ०५१ सालमा संसदको यात्रा तय गरे । २०५६ र २०६४ मा हार प्यहोरेका उनी २०७० मा सांसद मात्र चुनिएनन्, सुशील कोइराला नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बने । पछिल्लो पटक केपी ओली नेतृत्वको सरकारमा २०७८ साल जेठमा उनी १३ दिने गृहमन्त्री समेत बनेका थिए ।
खरो र जुझारु स्वभावका खगराजको राजनीतिक जीवनको सबैभन्दा बलियो पक्ष भनेको निष्कलंकित रहनु हो । त्यही कारण उनलाई आफ्नो क्षेत्रमा ‘रुखो’ छन्, तर बिगार चाहिँ गर्दैनन् भन्नेहरु भेटिन्छन् । केन्द्रमा सांसद र मन्त्री भइसकेका खगराजका लागि मुख्यमन्त्रीका रुपमा अर्को अर्को परीक्षा सुरु भएको छ ।
प्रदेशकै आवश्यकतामाथि प्रश्न उठाउन थालिएको बेला मुख्यमन्त्री भएका अधिकारीले त्यसलाई चिर्नुपर्ने चुनौती छ । गण्डकीको पहिलो सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बाले आफ्नै पार्टीका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा समेत प्रदेशको अधिकारका लागि लड्नु परेको थियो । अहिले पनि प्रदेशले पाउने पर्ने सबै अधिकार पाइसकेको छ भने स्रोत र साधनको सिमितिता पनि कायमै छ ।
खगराज भन्छन्, ‘म लोभ र कुर्चीको मोहले मुख्यमन्त्री बनेको होइन । म कुनै पनि दिन जनताको हित विपरीत जान्नँ । जनतालाई मन नपर्ने काम गर्दिनँ ।’
प्रतिक्रिया दिनुहोस्