धनगढी- जेलमा रहेका रेशम चौधरी रिहाई नभए माघी (१ माघ)पछि प्रदेशसभा अवरुद्ध गर्ने नागरिक उन्मुक्ति पार्टीले चेतावनी दिएको छ ।
टिकापुर घटनामा संलग्नता रहेको आरोपमा जेलचलान भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको रिहाई नभए माघि पछि प्रदेश सभा बैठक अबरुद्ध गर्ने नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले बताए ।
प्रदेश सभाको पहिलो बैठकमा शुभकामना दिन विशेष समयमा बोलेका चौधरीले भने, ‘माघी अगाडि टिकापुर घटनालाई सुल्झाएर जेलमा रहेका नेता कार्यकर्ताको रिहाई हुनु पर्दछ, त्यसो नभए माघि पछि प्रदेश सभा चल्न दिने छैनौं ।’
उनले थारु आन्दोलन पहिचानका लागि गरिएको र सो आन्दोलन व्यक्तिगत नभई राजनीतिक आन्दोलन भएको बताए । त्यसैले टिकापुर घटनालाई राजनीतिक रुपमै समाधान गरिनुपर्दछ,’ उनले भने, ‘अधिकार माग्नेलाई दण्ड सजायको व्यवस्था लोकतन्त्रमा हुन सक्दैन, थारु समुदायले त्यसलाई मान्नेवाला पनि छैन ।’
देशमा व्यवस्था परिवर्तनका लागि भएका अन्य राजनीतिक आन्दोलन जस्तै थारुको आन्दोलन पनि आफ्नो पहिचानका लागि गरिएको राजनीतिक आन्दोन भएको उनले बताए ।
सुदूरपश्चिम सरकार गठन अन्योलमा :
सुदुरश्चिम प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन । कसको नेतृत्वमा र कुन दलको नेतृत्वमा सरकार गठन हुन्छ भन्ने कुराको निर्णय नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदको हात छ। यस्तो अवस्थामा सजिलैसँग सबै दललाई बहुमत जुटाएर सरकार बनउन कठिन छ ।
त्रिपन्न सदस्यीय प्रदेशसभामा सात सदस्य रहेको नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता रामेश्वर चौधरीले टीकापुर घटनाका बन्दी रिहाइ नभएसम्म आफूहरुले कसैलाई सरकार बनाउन सहयोग नगर्ने र सरकारमा समेत सहभागी नहुने बताएको छ ।
देशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १९ सदस्य रहेका छन् । नेकपा (माओवादी केन्द्र) को ११, नेकपा (एमाले)को दश, नेकपा (एकीकृत समाजवादी)को चार, राप्रपा र स्वतन्त्र एक् एक जना रहेका छन् । सरकार गठनका लागि २७ सदस्यको बहुमत आवश्यक पर्दछ । सजिलैसँग सबै दललाई बहुमत जुटाउन कठिन छ । नागरिक उन्मुक्तिले केन्द्र सरकार गठनमा भने समर्थन गरेको छ ।
कांग्रेस र नागरिक उन्मुक्तिबाहेक प्रदेशसभामा माओवादी, एमाले, राप्रपा मिल्दा २२ सदस्य मात्र पुग्छन् । चार सदस्य रहेको (एकीकृत समाजवादी)ले सरकारमा जाने वा नजाने निर्णय अझै गरिसकेको छैन । समाजवादीले पनि सरकारमा जाने निर्णय गरेमा २६ सदस्य पुग्छन् ।
सरकार गठनमा अन्योल देखिँदा नागरिक उन्मुक्ति पार्टीका साथै डडेलधुराबाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका डा तारा जोशीलाई आआफ्नो पक्षमा पार्ने रणनीतिमा दलहरु देखिन्छन् ।
नेकपा (एमाले)का प्रदेशसभा सदस्य धर्मराज पाठक केन्द्रमा दलका शीर्ष नेतृत्वबीच कुन प्रदेशमा कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा छलफल चलिरहेकोले त्यसको टुङ्गो लागेपछि प्रदेश सरकार गठनमा देखिएको अन्योल हट्ने बताउछन् । “प्रदेशसभाको अहिले देखिएको अङ्क गणितले सरकार गठनमा केही अन्योल त छ नै”, उनले भने, “केन्द्र सरकार गठनमा नागरिक उन्मुक्तिले बाहिरबाट समर्थन गरेकै छ, प्रदेश तहमा पनि गर्नसक्ने सम्भावना छ ।”
प्रदेशसभाका सदस्य एवं कांग्रेसका नेता प्रकाश बमले सरकार गठनको विषयमा कांग्रेसले नागरिक उन्मुक्ति र स्वतन्त्र सदस्यसँग छलफल भइरहेको बताउछन् ।
उनले भने, “आजसम्म प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गर्नुभएको छैन, कसको नेतृत्वमा र कुन कुन दलको सरकार गठन हुन्छ भन्ने कुरा नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदको हात छ ।”





















