काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोभिड महामारी नियन्त्रणका लागि मुलुकको आफ्नै संकल्प र वाह्य सहयोग आवश्यक रहेको बताएका छन् ।
कोरोना संक्रमणपछि उपचार गराई अस्पतालबाट फर्केर घरमा आराम गरिरहेका पूर्वराजा र पूर्वरानीले संयुक्त रूपमा जारी गरेको भिडियो सन्देश बिहीबार सार्वजनिक भएको छ । जसमा पूर्वराजाले आफूहरू सबै अहिले स्वस्थ रहेको बताएका छन् ।
पूर्वराजाले आफूहरू महामारीप्रति चिन्तित रहेको र यो प्रक्रिया जारी रहेको भन्दै बाह्य सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायलाई धन्यवाद भनेका छन् ।
रानी कोमल राज्यलक्ष्मीदेवीसँगै बसेर भिडियो मार्फत जारी सन्देशमा पूर्व राजा शाहले आफूहरुको स्वास्थ्यलाई लिएर चासो व्यक्त गर्ने देश भित्र र बाहिर रहेका सबै नेपालीप्रति आभार व्यक्त गरेका हुन् ।
सन्देशमा पूर्व राजा शाहले भनेका छन्, ‘हामी दुवै पूर्ण स्वास्थ्य लाभको प्रक्रियामा छौँ । तर देश भित्र र बाहिर महामारीको अवस्थाले हामीलाई चिन्तित बनाएको छ । यो महामारीसँग जुध्नका लागि हाम्रो आन्तरिक पहल र बाह्य सहयोगको खाँचो छ ।’
उनले अग्रपंक्तिमा रहेर महामारीविरुद्ध दिनरात खटिरहेकाहरुलाई धन्यवाद भनेका छन् । सन्देशमा भनिएको छ, ‘अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्तालाई धन्यवाद दिन चाहन्छौँ ।’
उनले सबैमा महामारीबाट जोगिनका लागि सावधानी अपनाउन पनि आग्रह गरेका छन् । हाल संक्रमण भइ उपचारको क्रममा रहेकाहरुको शीघ्र स्वास्थ्य लाभको कामनासँगै कोभिड–१९ का कारण निधन भएकाहरुको चीरशान्ति र उनिहरुको परिवारजनमा धैर्यधारणको शक्ति दिन पशुपतिनाथसँग प्राथना गरेका छन्। प्राप्त सहयोगको लागि उनले अन्तराष्ट्रिय जगतलाई पनि धन्यवाद दिएका छन्।
महामारीविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मी लगायतलाई उनले धन्यवाद दिएका छन् ।
प्रकाशित मिति २०७८ जेठ २० गते बिहिबार ०७:३५