काठमाडाैं- नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बाहेकका सात दल मिलेर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति भएको छ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सात दलको बैठकले दाहाललाई प्रधानमन्त्री बनाउने निर्णय भएको एमाले महासचिव शंकर पोखरेलले बताए। “कांग्रेसले नसकेपछि स्वाभाविक रूपमा एमालेले सात दल मिलाएर सरकार गठनका लागि पहल गरेको हो,” बैठकपछि पोखरेलले भने।
एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले माओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्रीमा समर्थन गर्ने निर्णय गरेका हुन्।
कांग्रेसले बिलम्ब गरेपछि हामीले अग्रसरता लियौं: सुवास नेम्बाङ
नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले सरकार गठनका लागि कांग्रेसले ढिलाइ गरेपछि आफूहरुले अग्रसरता लिएको बताएका छन् । आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा समर्थन गर्न शीतल निवास जाँदै गरेका नेता नेम्बाङले कांग्रेसले बिलम्ब गरेपछि एमालेले अग्रसरता लिनु स्वभाविक भएको बताए ।
उनले भने, ‘सिटले बढी पाएको काङ्ग्रेसले समय अवधिमा सरकार बनाउन विलम्ब गरेपछि लोकप्रिय मतमा पहिलो एमालेले अग्रसरता लिनु स्वभाविक हो । अब राष्ट्रिय राजनीतिको अन्योल फाट्ने छ ।’
सरकारमा जाने मन्त्रालयको विषयमा रास्वपा थप छलफलमा
बालकोट बैठकबाट राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने भएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालका अनुसार सरकारलाई समर्थन गर्ने निर्णय भएको छ ।
उनका अनुसार पार्टी सरकारमा जाने मोटामोटी सहमती भएको छ । उनले भने, ‘सरकारमा जाने मोटामोटी सहमती भएको छ । तर, अब मन्त्रालयको विषयमा भने टुंगो लगाउन बाँकी छ ।’ मन्त्रालयको विषयमा भोलिसम्म टुंगो लगाउने उनले बताए । उनले भने, ‘सरकारलाई समर्थन गर्ने र सरकारमा जाने विषय आज टुंगियो । मन्त्रालयको विषय पार्टीमा छलफल गरेर भोलिसम्म टुंगो लाग्छ ।’
प्रधानमन्त्री बाहेकका पदहरुमा भागवण्डा बाँकी
नेकपा एमाले नेतृत्वको गठबन्धनमा प्रधानमन्त्री बाहेकका पदहरुमा भागवण्डाबारे सहमति जुटेको छैन। माओवादी महासचिव देव गुरुङका अनुसार प्रधानमन्त्रीमा आलोपालो सरकार बनाउने र पहिलो चरणमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ । तर, अन्य पदहरुका विषयमा छलफल हुनै बाँकी छ ।
राष्ट्रपति र सभामुख एमालेलाई

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट आगामी सत्ता साझेदारीबारे ठोस सहमति जुटेको छ । नयाँ सरकारको नेतृत्व एमाओवादी अध्यक्ष प्रचण्डले गर्नेछन् भने राष्ट्रपति एमालेले पाउने भएको छ ।
स्रोतका अनुसार प्रचण्डले आगामी साढे दुई वर्ष सरकारको नेतृत्व गर्ने सहमति जुटेको हो । आलोपालोको सिद्धान्तअनुसार त्यसपछिको आधा समय एमालेले सरकारको नेतृत्व लिनेछ ।प्रधानमन्त्रीपछिको मुख्य दुई पद राष्ट्रपति र सभामुख भने एमालेले पाउने गरी सहमति जुटेको एक नेताले बताए ।
एमाले र एमाओवादीसहित कम्तीमा ५ वटा दलहरु आगामी सरकारमा सहभागी हुने भएका छन् ।संसदको चौथो ठूलो दलका रुपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान सकारात्मक छ । यसैगरी जसपा, नागरिक उन्मुक्ति र जनमत पार्टी पनि इच्छुक छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टीले भने सरकारमा जाने वा नजाने भनेर ठोस निर्णय लिएको छैन । यद्यपि, बहुमत पुर्याउन सहयोग गर्ने पार्टीको निर्णय छ ।
देउवाले सहमति कार्यान्वयन गर्न सक्दिनँ भनेपछि नयाँ परिस्थिति बन्यो : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले एक साता अघि भएको सहमति तोड्दा गठबन्धन टुटेको बताएका छन् । आइतबार विहानसम्म प्रचण्ड, कांग्रेस सभापति समेत रहेका देउवासँग वार्तामा थिए । राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न देउवा तयार नभएपछि माओवादीले एमालेसँग सहकार्य रोजेको छ । माओवादी केन्द्र र एमालेबीच आलोपालो प्रधानमन्त्री र पहिलो चरणमा प्रचण्डले सरकारको नेतृत्व गर्ने सहमति भएको छ । प्रचण्डले देउवा एक साताअघि भएको सहमतिमा टिक्न नसकेको बताए ।
‘आजभन्दा ठीक एक साताअघि मेरो देउवाजीसँग पहिलो चरणको नेतृत्व मैले गर्ने, दोस्रो चरणको उहाँले गर्ने सहमति भएको थियो,’ उनले भने, हिजो आएर उहाँले मलाई असाध्यै ठूलो दबाव भयो । पार्टीभित्र र साथीहरुलाई मनाउन सकिनँ । त्यसैले त्यो सहमति कार्यान्वयन गर्न सक्दिन भन्नभयो ।’
देउवा सहमतिमा नटिकेपछि नयाँ परिस्थिति बनेको उनले बताए । प्रचण्डले भने, ‘गठबन्धन तोड्ने हाम्रो उद्देश्य थिएन । तर कांग्रेस इमान्दार भएको देखिएन ।’अब एमालेसँग सहकार्य गर्दै अघि बढ्ने उनले बताए ।
प्रधानमन्त्रीमा आलोपालोको सहमति

नेकपा एमाले र माओवादी केन्द्रबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ । माओवादी केन्द्र, कांग्रेस नेतृत्वको गठबन्धन छाडेर आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमत भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार भएको छलफलमा अहिले प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । एक नेता भन्छन्, ‘आलोपालो प्रधानमन्त्रीको सहमति भएको छ । अहिले प्रचण्डको नेतृत्वमा सरकार बन्छ ।’
प्रचण्डलाई प्रधानमन्त्री बनाउन ७ दलको समर्थन
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बहुमतको सरकार बनाउन ७ दलको समर्थन रहने भएको छ । एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन ७ दलले समर्थन गर्ने सहमति जुटेको हो ।
जसअनुसार माओवादी केन्द्रका प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहनेछ । ती सबै पार्टीबाट सांसदको संख्या १६६ हुन आउँछ ।प्रतिनिधिसभामा एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६ र नागरिक उन्मुक्तिका ४ सांसद छन् ।






















