images
images
  • संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

    काठमाडौं– संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको आज विहान ७ बजेर ९ मिनेटमा उपचारकाे क्रममा किष्ट मेडिकल कलेजमा निधन भएकाे छ।

    ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान ७ बजेर ९ मिनेटमा निधन भएको जोशी परिवारसँग निकट रहेका नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए ।

    १ सय ३ वर्षिय जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो । अस्पताल बसाइको शुरुका दिनमा केही सुधार भएजस्तो देखिएपछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।

    उनलाई पहिलेदेखि पुरानो रोगले ग्रसित पारेको कारणले जतिसुकै औषधि चलाएता पनि शरीरले राम्रो रेस्पोन्स नगरेको अस्पतालले जनाएको छ । उनको उपचारमा प्रा डा मिलेश जंग सिजापतिको संयुक्त टोली खटिँदै आएको थियो ।

    किष्ट मेडिकल कलेजले सत्यमोहन जोशी र उनकी पत्नीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

    सत्यमोहनले यसरी बनाए संस्कृतिविद्को आमचिनारी
    संस्कृतिविद्को आमचिनारी बनाएका भए पनि सत्यमोहन जोशी जीवनका अनेकन कुइनेटाहरूमा कहिले औद्योगिक तथा व्यापारिक समाचार संग्रह अड्डाका तथ्यांक संकलक भए त कहिले पुरातत्त्व विभागका निर्देशक । कहिले नेपाल-अमेरिका सांस्कृतिक केन्द्रको कल्चरल सेक्रेटरी भए त कहिले तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानको सहप्राज्ञ भए । जहाँ जे भए पनि सत्यमोहनले इतिहास र संस्कृतिको खोजीमेली, लोकभाका र लोकसंस्कृतिको खोज अनुसन्धानको काम भने जारी नै राखे ।

    वि.सं. २०२६ सालमा प्रज्ञा प्रतिष्ठानमै रहेका बेला जोशीकै अगुवाइमा भएको कर्णालीको लोकसंस्कृतिको अध्ययनपछि प्रकाशित कर्णाली लोकसंस्कृति पुस्तकका लागि संयुक्त रुपमा मदन पुरस्कार पाएका थिए । त्यसअघि नै जोशीले हाम्रो लोक संस्कृति पुस्तकका लागि वि.सं. २०१३ सालमा र नेपाली राष्ट्रिय मुद्राग्रन्थका लागि २०१७ सालमा गरी तीनपटक मदन पुरस्कार पाएका थिए ।

    जीवित अवस्थामै हुलाक टिकटमा प्रकाशित उनी पहिलो नेपाली नागरिक पनि हुन् ।

    जहानियाँ राणा शासनदेखि २००७ सालमा आएको प्रजातन्त्रसम्म र २०१७ देखि सुरु भएको पञ्चायतदेखि २०४६ मा आएको प्रजातन्त्रसम्मका सबै उथलपुथलपूर्ण इतिहासका साक्षी रहेका जोशी नेपाली र नेवारी भाषाका नाटककार र त्यसमा अभिनय गरेका कलाकार पनि थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images