काठमाडौं-हिन्दुहरुको महान चाड दशैं यतिबेला धुमधामसँग मनाइँदैछ । राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा रहेका सर्वसाधारण आफ्नो गाँउ घर फर्किइसकेका छन् । मान्यजनको हातबाट टीका र जमरा ग्रहण गर्न नेतादेखि सर्वसाधारण आफ्नो घरमा जम्मा हुन्छन् । यो वर्ष राजनीतिक दलका शीर्ष नेताहरुले कहाँ र कसरी दशैं मनाउँदै छन् ?
शेरबहादुर देउवा
प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले यो वर्षको बडा दशैं काठमाडौंमा नै मनाउनुहुने भएको छ । सरकार र काँग्रेस पार्टी सभापति दुवै नेतृत्वको जिम्मेवारीमा रहनुभएको उहाँले विजया दशमीका दिन परिवारमै टीकटालो गर्ने र यस पश्चात् प्रधानमन्त्री निवास बालुवाटारमा पनि नेताहरुसँग भेटघाट गरी दशैं मनाउने कार्यतालिका रहेको प्रधानमन्त्री निजी निवासले जनाएको छ । ‘प्रधानमन्त्री ज्यू सरकारको गतिविधिमै व्यस्त हुनुहुन्छ, प्रधानमन्त्री निवास बालुवाटारमा टीका थाप्न आउनुहुनेहरुलाई टीका लगाइदिनुहुनेछ । यसबाहेक गृहजिल्ला डडेलधुरा वा अन्त कतै जाने योजना छैन ।,’ प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
केपी शर्मा ओली
केपी शर्मा ओली प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्षले दशैंको भक्तपुरस्थित बालकोटमा हुनेछ । ‘उहाँले बुबाको हातबाट टीका लगाइदिनुहुनेछ । टीका लगाउनुहुन्छ । परिवार, आफन्त र नेता तथा कार्यकर्ताहरुलाई टीका लगाउने यस्तै सामान्यरुपमा दशैं मनाउनुहुनेछ,’ नेपालको निजी सचिवालयले जनाएको छ ।
माधवकुमार नेपाल
सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पनि यो वर्षको दशैं काठमाडौंको कोटेश्वरस्थित निजी निवासमा मनाउनुहँदैछ । ‘उहाँले परिवारलाई टीका लगाइदिनुहुनेछ भने, उहाँले सानीआमा शान्ता नेपाल र दाजु कृष्णकुमार नेपालको हातबाट टीका लगाउनुहुन्छ । परिवारहरुलाई टीका लगाउने यस्तै सामान्यरुपमा दशैं मनाउनुहुनेछ,’ नेपालको निजी सचिवालयले जनाएको छ ।
पुष्पकमल दाहाल प्रचण्ड
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयका अनुसार यो वर्षको दशैं ललितपुरको खुमलटारमा नै पारिवारिक भेटघाटमा बिताउँदै हुनुहुन्छ । ‘दशैंमा अरु के हुनु र ? टीका वा त्यस्तो तामझामभन्दा पनि सधैं झैं सामान्यरुपमा पारिवारिक सदस्यहरुको भेटघाट बढी महत्वपूर्ण कुरा हुन्छ । सबैजना सँगै बस्यो, खायो अनि छलफल ग-यो । दशैंमा पहिलेदेखि नै त्यस्तो विशेष गर्ने गर्दैनौं ।’
रामचन्द्र पौडेल
सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका दशैं बोहोराटारस्थित निजी निवासमा हुनेछ ।
बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पनि यस वर्षको दसैं काठमाडौंमै मनाउनेछन् । उनले बुवा भोजप्रसाद भट्टराईको हातबाट टीका थाप्नेछन् भने नेता कार्यकर्ताहरूलाई पनि टीका लगाइदिनेछन् । ‘कोरोनाको जोखिम छदैछ । घरैमा बुबाबाट टीका थाप्नुहुन्छ । बचेको समय लेखपढ, अध्ययन र कार्यकर्ता भेटघाटमै बिताउनुहुन्छ,’ प्रेस सल्लाहकार विश्वदीप पाण्डेले भने ।
महन्थ ठाकुर
सत्ता साझेदार दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर दशैंको लागि आफ्नो क्षेत्र महोत्तरी जाँदै हुनुहुन्छ । ‘मेरो आफ्नो घर छैन । आफ्नो क्षेत्रमा जान्छु, साथीहरुले जहाँ–जहाँ घुमाउछन्, त्यही घुम्छु । मधेशमा घटस्थापनादेखि देवी र शक्ति पीठहरुमा जात्रा–पूजा शुरु भइसकेको छ । देवीको दर्शन गरेर दशैं मनाउछु ।’, ठाकुरले बताउनुभयो ।
बामदेव गौतम
नेकपा एमालेमा राजीनामा बुझाउनुभएका नेता बामदेव गौतमले पनि यस वर्षको दशैं काठमाडौंमा नै बिताउँदै हुनुहुन्छ । नेता गौतमले दशैं अवधिमा देशको कम्युनिष्ट आन्दोलनमा आएको उतारचढाव र समग्र कम्युनिष्ट पार्टीबारे किताब लेखिरहनुभएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ ।
पशुपति शमशेर जबरा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबरा भने दशैं मनाउनको लागि असोज २५ गते नै भारतको नयाँ दिल्ली गइसक्नुभएको छ । ‘उहाँ प्रत्येक वर्ष नै दशैंका लागि दिल्ली जानुहुन्छ, यो वर्ष पनि सोमबार बिहान ११ बजे दशैंका लागि दिल्ली गइसक्नुभयो,’ उहाँको निजी सचिवालयले जानकारी दिएको छ ।
प्रकाशमान सिंह
कांग्रेस नेता प्रकाशमान सिंहले काठमाडौंस्थित चाक्सीबारीमै दसैं मनाउने कार्यक्रम छ । उनले विजया दशमीका दिन घरमा पूजाआजापछि वसन्तपुरमा कुमारीको हातबाट टीका ग्रहण गर्नेछन् भने दाजु पीएल सिंहबाट टीका ग्रहण गर्नेछन् । त्यसपछि निवासमै नेता कार्यकर्ता र आफन्तहरूलाई टीका लगाइदिनेछन् । ‘पारिवारिक जमघट हुन्छ । २–३ दिनसम्म टीका लगाउनुहुन्छ,’ सहयोगी युपी लामिछानेले भने ।






















