images
images
  • पूर्वराजा ज्ञानेन्द्रले भने-‘दलहरुका कारण जनतामा उत्साह छैन, सही पात्र देशले खाेजिरहेकाे छ’

    काठमाडौं-पूर्वराजा ज्ञानेन्द्र शाहले दसैँको शुभकामना दिँदै वर्तमान शासन व्यवस्थामाथि नै प्रश्न उठाएका छन्। आज एक भिडियो सन्देश मार्फत दसैँको शुभकामना दिँदै पूर्वराजा शाहले सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य भएको दाबी गरे।

    उनले दलहरु पदलोप, सत्ता स्वार्थ र भागबण्डामा अल्झिएको आरोपसमेत लगाएका छन्। शाहले कार्यपालिका, व्यस्थापिका र न्यायपालिकाका सबै अंगभित्र उत्पन्न विवाद, विग्रह र विकृतिले सर्वत्र प्रश्न उठेको बताए।

    ‘यो अवस्थाले जनतामा उत्साह छैन । मुलुकमा भविष्यप्रति र भविष्य निर्माणको कुनै भरोसा छैन । के गर्ने, के गर्न नहुने, के न्यायिक मूल्य हो र के हैन यी सबै कुराको निराकरण कसले गर्ने, को बाट हुने’, पूर्वराजा शाहले भनेका छन्, ‘देश र जनतासामु खड्किएको ज्वलन्त प्रश्न यही हो। देशकाप्रति बफादारी र जनताप्रति उत्तरदायी भएर काम गर्ने विधि–व्यवस्था, संगठन एवम् प्रतिनिधित्वको सही पात्र आज देशले खोजिरहेको छ ।’

    आफ्ना सनातनी मूलभूत महिमालाई विथोलेर, केही संरचना बदलेर र केही नामान्तर गरेर सुन्दर तथा नौलो नेपाल नहुने कुरा प्रमाणित भइसकेको पनि पूर्वराजा शाहले जिकिर गरेका छन्।

    ‘प्रयोग र अभ्यासबाट नै देशलाई बचाउने र बनाउँदै जाने हो। देशका मौलिक मूल्य र सही विकल्पतर्फ हाम्रो मनोभाव बढ्दो रूपमा पाइन्छ । पुर्खाले आर्जेको यो स्वाधीन राष्ट्रलाई असफलतातिर धकेल्नुहुन्न भन्ने आम भावना रहेको छ। आफ्ना सनातनी मूलभूत महिमालाई विथोलेर, केही संरचना बदलेर र केही नामान्तर गरेर सुन्दर नौलो नेपाल भइहाल्दो रहेनछ। त्यसैले बलियो मियोमा आवद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्य चेतना आउन आवश्यक छ’, शाहले भनेका छन्।

    उनले रोजगारीका लागि होनाहार नेपालीहरू विदेश गएर भूभागलाई उजाड बनाएको अवस्थामा बाहिरियाहरूलाई भित्र्याएर वास्तविक नेपालीलाई धरापमा पार्न खोजिएको आरोप पनि लगाएका छन् । उनले नेपाल निरन्तर विदेशीहरूको क्रिडास्थल बनेको जनगुनासो व्याप्त रहेको पनि बताएका छन् ।

    यस्तो उनको भिडियो सन्देश

    ‘प्यारा नेपाली दिदिबहिनी तथा दाजुभाई, समाजमा सत्य स्थापित गर्ने, सद्भाव जागृत गर्ने र दानवी तात्पर्य नाश गर्ने दशैं पर्वको आदर्श हो। हाम्रो संस्कार र व्यवहारमा दशैं मनाउँदा विद्यमान पद्धति र जीवनप्रकृतिको गहिरो दृष्टि हेर्दै जानुपर्छ। शान्ती होस्, सदाचार रहोस् र आपसी सद्भाव बढोस् दशैं पर्वको यहि आशय हो। त्यसैले यस पावन अवसरमा देश भित्र र बाहिर रहे बसेका सबै नेपालीहरुमा हामी मंगलमय शुभकामना व्यक्त गर्दै हामीलाई लागेको छ कुनै पनि देशभक्त नेपालीलाई यो समय सजिलोसँग बितिरहेको छ जस्तो लाग्दैन।राष्ट्र, प्रजातन्त्र, मौलिक मान्यताहरु र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकीय राज्य व्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरुको चोखो चाहना परिपुर्ति गर्न श्री नवदुर्गा भवानीले प्रेरणा प्रदान गरुन्।

    ‘जय नेपाल’

    प्रतिक्रिया दिनुहोस्
    images
    images