images
images
  • एकजना नेपालीको भागमा ६९ हजार ऋण !

    काठमाडौं- नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण प्रत्येक वर्ष बढ्दै गएको छ । पाँच वर्षअगाडि नौ खर्ब १६ अर्ब रुपैयाँ रहेको आन्तरिक र बाह्य ऋण गत आर्थिक वर्ष (आव) २०७८/७९ को अन्त्यसम्ममा बढेर २० खर्ब ११ अर्ब पुगेको छ ।

    यो ऋण पाँच वर्ष अगाडिको तुलनामा ११९.५४ प्रतिशतले बढी हो । पाँच वर्षदेखि सार्वजनिक ऋण प्रत्येक वर्षजसो बढ्दै गएको छ ।

    सार्वजनिक ऋण बढ्दै गएकाले प्रत्येक नेपालीको भारमा पर्ने ऋण पनि बढ्दै जान्छ । एक वर्षअघिको तुलनामा गत आवको अन्त्यसम्म प्रत्येक नेपालीको भागमा करिब १० हजार रुपैयाँ ऋण बढेको छ ।

    अघिल्लो आव २०७७/७८ को अन्त्यसम्म प्रत्येक नेपालीको भागमा ५९ हजार रुपैयाँ रहेको उक्त ऋण गत आवको अन्त्यसम्म बढेर ६८ हजार ९०० पुगेको हो ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नेपालले कुल तिर्न बाँकी आन्तरिक तथा बाह्य ऋण र तथ्यांक विभागले सार्वजनिक गरेको २०७८ सालको जनगणनाको प्रारम्भिक जनसंख्या अनुसार उक्त तथ्य निकालिएको हो ।

    राष्ट्र बैंकका अनुसार गत आवको अन्त्यसम्म नेपालको तिर्नुपर्ने बाँकी ऋण कुल २० खर्ब ११ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । जसमध्ये आन्तरिक ऋण ९ खर्ब ८४ अर्ब २८ करोड रुपैयाँ रहेको छ भने बाह्य ऋण १० खर्ब २७ अर्ब ३० करोड रुपैयाँ रहेको छ ।

    यो ऋण गत आवको कुल गार्हस्थ्य उत्पादनको ४१.५० प्रतिशत हो । हाल नेपालको कुल गार्हस्थ्य उत्पादन ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । त्यस्तै अघिल्लो वर्षको अन्त्यसम्म यस्तो ऋण १७ खर्ब ३४ अर्ब ४७ करोड रुपैयाँ थियो ।

    सो वर्ष कुल गार्हस्थ्य उत्पादनको ४०.६० प्रतिशत थियो । एक वर्षमा नेपालले तिर्नुपर्ने ऋण ०.९० प्रतिशत विन्दु बढेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images