images
images
  • काठमाडौंमै पाइन्छ पाँच रुपैयाँमा कपडा !

    काठमाडौं– पाँच रुपैयाँमा पनि कपडा पाइन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ ? यो झट्ट कसैले विश्वास गर्ने कुरा पनि होइन । तर काठमाडौंको जोरपार्टीमा रहेको शेर्पा क्लोथ स्टोरमा ५ रुपौयाँबाट सुरु भएर ३ सयसम्मको कपडा तथा जुत्ता चप्पल पाईन्छ । यस स्टोरमा सेकेन्ड ह्रयान्ड कपडाको साथै नयाँ कपडा पनि सुपथ मूल्यमा पाइन्छ ।

    शेर्पा क्लोथ स्टोरले ५ देखि ३ सय रुपैयाँसम्मको सामान बेच्दै आएको ९ महिना भएको छ । यस स्टोरले पुरानो कपडालाई धोइपखाली चिटिक्क पारी पुनः प्रयोग योग्य बनाएर बेच्ने गरेको छ ।

    कसरी सुरु भयो शेर्पा क्लोथ स्टोर ?
    सानै उमेरमा मान्छे पढाईका साथै रमाइलो तिर लगाब देखाउँछन् । तर उनी भने घरको आर्थिक अबस्था कमजोर भएकै कारण सानो उमेरमा कामको सिलसिलामा घरबाट भागेर काठमाडौं आएको बताउँछन स्टोरका सञ्चालक टशी शेर्पा । उनी दोलखा जन्म भई अहिले काठमाडौंको बौद्धमा बस्ने गरेका छन् ।

    सानै उमेरमा आफू जन्मेको गाउँ छोडेर काठमाडौं आएका उनी बत्ती बाल्ने क्रममा करेन्ट लागेर मुटुमा हानेको भन्दै आफ्नो बिगतलाई कोट्टाए शेर्पाले । ”त्यति बेला त केही थाहा थिएन, उनले भने, समय बित्दै गएपछि थाहा भयो कि त्यती बेला लागेको करेन्टले मुटुको नशानै फुटाएको रहेछ ।” जति समय बित्दै गयो त्यतिनै अप्ठेरो काम गर्न नसक्ने भएको सुनाए । स्टोर सञ्चालन गर्नु भन्दा पहिले शेर्पा कामको सिलसिलामा बिदेश पनि गएका थिए । बिदेशमा करिब २० बर्ष बसेर नेपाल फर्किएका रहेछन् उनी ।

    मुटुकै समस्या देखिन थालेपछि उनले अप्ठेरो काम गर्न नसकेर आफ्नो स्वास्थ्यलाई ध्यानमा राखी पठाओ राइडर बने । पठाओ राइडर बनेको १ वर्षसम्म त जीवन यापन राम्रो भएको सुनाउँछन उनी । त्यसपछि भने स्वास्थ्यमा जटिल समस्या देखापर्न थालेपछि उनको गत वर्ष मङ्सीर २१ गते गंगालाल अस्पतालमा मुटुको अपरेशन भएको थियो । “मुटुको अपरेशनपछि बाचुनजेलसम्म मैले समाजको लागि केही गर्छु भनेर यो स्टोर सञ्चालनमा ल्याएको हो, उनले भने ।”

    यसको उद्देश्य:
    जीवन मरण भनेको प्राकृतिक प्रक्रिया हो । न यसलाई कसैले रोक्न सक्छ न कसैले छेक्न नै सक्छ । यो धर्तीमा जन्म भइसकेपछि बाचुनजेल समाजको लागि केही गनुपर्छ भन्ने सोच भएका शेर्पाले आफ्नो मुटुको अपरेशनपछि यस स्टोरबाट समाजिक कार्य गर्दै आएका छन् ।

    गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ स्थित जोरपाटीमा रहेको यस स्टोरले मजदुर तथा गरिब परिवारलाई मध्यनजर गदैँ उनीहरुको जीवनयापनमा केही सहज होस भन्ने उद्देश्यका साथ स्थापना भएको हो । “यो बौद्ध जोरपाटीमा मजदुरहरु धेरै बस्ने ठाउँ हो” उनले भने, “उहाँहरुको लागि सेवा होस भन्ने उद्देश्यले यो स्टोर स्थापना गरेको हो ।” धनी मान्छेहरुले एक दुई पटक मात्र प्रयोग गरेर राखेको कपडा पुनः प्रयोगमा ल्याउँने गरेको छ यो स्टोरले ।

    “उनीहरुले निम्नस्तरका मान्छेलाई दिन खोज्यो भने पनि मलाई हेपेर दिएको भन्ने हुन्छ जसले गर्दा दिनेले पनि दिन सक्दैँन र लिनेले पनि लिन खोज्देैँन”, उनले भने, “त्यसकारण यत्तिकै बसेको कपडाहरुलाई प्रयोगमा ल्याउनको लागि प्ल्याटफर्म चाहिने भएकाले यो स्टोरको स्थापना भएको हो । यसले दिने र लिने बानीको बिकास गर्छ ।”

    ग्राहकहरुले नयाँ कपडा नै सस्तो मूल्यमा पाएँपछि खुशी भएर लैजाने गरेका छन् । “त्यही कपडा बाहिर किन्यो भने हजार पन्ध्र सयभन्दा कममा आउँदैन”, उनले भने, “त्यही पैसाले यहाँ आएर किन्यो भने नयाँ कपडा नै १०/१२ थान आउछ । यहाँ आएर १५ सयको सामान किन्यो भने पुरा परिवारलाई पुग्छ ।”

    कसरी सङ्कलन हुन्छ सामान ?
    यस स्टोरमा १० प्रतिशत कपडा सेकेन्ड ह्यान्ड रहेको र ९० प्रतिशत कपडा तथा जुत्ता चप्पल नयाँ भएको बताउँछन सञ्चालक शेर्पा । पुरानो कपडाहरु अहिलेसम्म शेर्पा समाजले नै दिने गरेको बताए । तर पुरानो कपडा सधै भनेको समयमा नपाउने भएकाले उनले ९० प्रतिशत सामान नयाँ नै राख्ने गरेको छन् । उनले फेशन गएर होलसेल पसलको स्टकमा रहेका नयाँ कपडा तथा जुत्ता चप्पलहरु लटमा ल्यार बेच्ने गरेका छन् ।

    अघिल्लो वर्षमा आएको फेशनको कपडा अर्को वर्ष बिक्री नहुने र प्रयोग बिहिन भएर थन्किने भएको हुनाले त्यस्तो कपडाहरु गरिब तथा मजदुरले सस्तो मूल्यमा किनेर लगाउन सक्ने उनको भनाइ छ । त्यसरी लटमा सामान ल्याउदा उनले प्रति किलो १ सय ५० रुपौयाँ देखि ४ सयसम्म तिर्ने गरेका छन् । एक किलोमा ५/६ थान कपडा आउने उनले बताए ।

    मञ्दुर तथा गरिबीको चपेटामा परेका व्यक्तिलाई मध्यनगर गरी सञ्चालनमा ल्याएको स्टोरमा सोचेको भन्दा राम्रो भएको उनले बताए । यहाँ लक्षित वर्गका ग्राहक मात्र नभएर विधार्थीदेखि यहीँ घर भएका ग्राहकहरु आउने गरेको पाइएको छ । “लटको सामान राम्रो राम्रो आउँछ”, उनले भने, “लक्षित वर्गका ग्राहक मात्र नभई सबै जना आएर छानी छानी सस्तो मूल्यमा सामान लौँजानु हुन्छ ।”

    “मलाई नभए पनि अरुलाई होस भनेर मैले यो व्यवसाय सुरु गरेको हो, उनले भने, यहाँ ३ सय सम्म मूल्य राख्नुको कारण पसलको भाडा र यहाँ कार्यरत कर्मचारीलाई तलब दिनु पर्ने भएर हो ।” उनले आफ्नो स्वास्थ्य अवस्था ठीक नभएको कारण दुई जना कर्मचारी राखेका छन् ।

    नेपालमा यस्ता पसल आज भोलि धेरै नै सञ्चालनमा आएको छ । यसले गरिब तथा मजदुरलाई सहायता पुगेको उनको भनाइ छ । उनी पनि अरुले गरेको देखेर प्रेरित भएको बताउँछन् । मलाई नभए पनि अरुलाई होस् भन्ने मान्यता राख्ने उनी अबको जीवन समाज सेवामा बिताउने सुनाउछन् । “प्रेसर अनि सुगर छ । लिभर पनि ड्यामेज भएको छ । उनले भने, मुटुको अपरेशन पनि भएको छ ।” धेरै बाच्ने आश नभएको कारण बाचुनजेल समाजको लागि केहि गर्ने उनले बताए ।

    समाजमा केहि सिमित व्यक्तिले गर्ने यस्ता कार्यले असिमित मान्छेलाई राहत पुगेको हुन्छ । त्यसैले यस्ता कार्यलाई सम्मान गर्नुपर्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images