
काठमाडौं- स्थानीय तहका भूउपयोग परिषदले कृषि र गैरकृषि जग्गा नछुट्याउँदा देशैभरी कित्ताकाट ठप्प भएको छ । चालु आर्थिक वर्षको साउन महिनामा देशभरी ८ हजार ७८५ जग्गा कित्ताकाट गरी १५ हजार ३०५ पुगेका छन् । यो संख्या भूउपयोग नियमावली जारी गर्नुपूर्व जेठको तुलनामा करिव ८८ प्रतिशतले कम हो ।
भूमि व्यवस्था मन्त्रालयले भूउपयोग निमायवली २०७९ राजपत्रमा प्रकाशित गरेर २७ जेठमा कृषि र गैरकृषि भनी वर्गीकरण नगरेको जग्गा कित्ताकाट नगर्न मालपोत र नापी कार्यालयलाई निर्देशन दिएको छ । असारको सुरुदेखि नै कित्ताकाट ठप्प भएको मालपोत अधिकृत बताउँछन् ।
सरकारले जग्गाको वर्गीकरण गर्न स्थानीय तहमा रहेका स्थानीय भूउपयोग परिषदलाई अख्तियारी दिएको छ । तर, दुई महिना नाघिसक्दा समेत स्थानीय तहहरुले जग्गाको वर्गीकरण गर्न सकेका छन् । अहिलेसम्म दाङको तुलसीपुर, काठमाडौंको शंखरापुर, रुपन्देहीको तिलोत्तमा लगायत केही स्थानीय तहले मात्र जग्गाको वर्गीकरण गर्न सकेका छन् ।
स्थानीय तहले जग्गाको वर्गीकरण गरेर सिफारिस नदिँदा देशैभरी कित्तकाट ठप्प छ । अहिले फाट्फुट्ट मात्र कित्ताकाट भइरहेको छ । जग्गाको वर्गीकरण नहुँदा कित्ताकाटमा समस्या परेपछि हाउजिङ परियोजनाहरुको काम पनि रोकिन पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्