काठमाडौं- एक महिलाले आफ्ना सहकर्मीलाई अदालतसम्म पुर्याएकी छिन् । चीनकी ती महिलाले आफ्नो तीनवटा करङ भाँचिदिए पछि आफूसँगै काम गर्ने व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेकी छिन् ।
यो अचम्मको घटना सन् २०२१ मे महिनामा भएको हो । चीनको हुनान प्राप्तस्थित युयाङ शहरकी एक महिला आफ्ना सहकर्मीसँग कुरा गरिरहेकी थिइन् । त्यति नै बेला उनका एक पुरुष सहकर्मी अचानक आइपुगे र उनलाई अभिवादन स्वरुप अँगालो हाले । अँगालो हाल्दा उनलाई दुखेपछि उनी कराएकी पनि थिइन् । ती व्यक्तिले उनलाई यति दह्रोसँग अँगालो हालेका थिए कि उनलाई अफिसबाट फर्किएर घर पुग्दा पनि छाती दुखिरह्यो ।

‘अल्ट्रा टाइट’ अँगालो हालेको पाँच दिनपछि ती महिलाको छाती असाध्यै दुख्न थाल्यो । उनी अस्पताल नगई बस्न सकिनन् । एक्स रे गरेर हेर्दा उनको एउटा मात्रै नभई तीनवटा करङ भाँच्चिएको पत्ता लाग्यो ।
तसर्थ ती महिलाले आफ्ना सहकर्मी विरुद्ध युयाङ सिटीस्थित युनजी अदालतमा मुद्दा दर्ता गरिन् । अँगालो हालेपछि करङ भाँच्चिएको र यसका कारण आफूले आर्थिक घाटा वहन गर्नुपरेको भन्दै क्षतिपूर्तिको मागदाबी गरेकी छिन् ।
मुद्दाको सुनुवाईको क्रममा ती पुरुषलाई न्यायाधीशले १५ सय डलर क्षतिपूर्ति प्रदान गर्न आदेश दिए । करङ भाँच्चिएको भनेर पाँच दिनपछि पत्ता लागेपनि त्यो अवधिमा महिलाले हड्डी भाँचिन सक्ने कुनै पनि गतिविधिमा भाग लिएको प्रमाण नभएको अदालतले जनाएको छ । यसका साथै, अँगालो हालेपछि महिलाको पीडादायी प्रतिक्रियाबारे अन्य सहकर्मीले अदालतमा बयान दिएका थिए ।
यो घटनाले चिनियाँ सामाजिक सञ्जालमा बहससमेत सुरु गरेको छ तर अधिकांशले महिलाको अवस्थाप्रति सहानुभूति व्यक्त गरे र साथीभाइ – सहकर्मीलाई अभिवादन गर्दा सतर्क रहन पनि सुझाए । (एजेन्सी)


विश्व खबर 


















