images
images
  • एक वर्षमा जीवन बिमा कम्पनीले गरे एक खर्ब ३८ अर्ब बढी शुल्क आर्जन

    काठमाडौँ- गत आर्थिक वर्ष (आव) २०७८–०७९ को अन्त्यसम्म १९ जीवन बिमा कम्पनीले एक खर्ब ३८ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी कुल बिमा शुल्क आर्जन गरेका छन् ।

    बिमा समितिले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्याङ्क अनुसार बिमा कम्पनीहरूले उक्त बिमा शुल्क आर्जन गरेका हुन् ।

    जसमा ४१ अर्ब ४४ करोड ७० लाख रुपैयाँ प्रथम बिमा शुल्कमार्फत आर्जन भएको छ । ९७ अर्ब १९ करोड ३५ लाख रुपैयाँ बिमा पोलेसी नवीकरणमार्फत आर्जन भएको हो ।

    गएको वर्ष सर्वाधिक कुल बिमा शुल्क नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ । गत वर्ष यो कम्पनीले ३५ अर्ब ३८ करोड ३६ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको समितिको तथ्यांक छ ।

    तीन कम्पनीले गरे १० अर्बभन्दा बढी कुल बिमा शुल्क आर्जन
    गएको वर्ष तीन जीवन बिमा कम्पनीले १० अर्बभन्दा बढी कुल बिमा शुल्क आर्जन गरेका छन् । १० अर्बभन्दा बढी कुल बिमा शुल्क आर्जन गर्नमा नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) र नेसनल लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।

    नेपाल लाइफले ३५ अर्बभन्दा बढी कुल बिमा शुल्क आर्जन गरेको छ । यो कम्पनीले उक्त अवधिमा सात अर्ब ३७ करोडभन्दा बढी प्रथम बिमा शुल्कमार्फत आर्जन गरेको हो । त्यस्तै बिमा लेख नवीकरणमार्फत २८ अर्ब एक करोड १२ लाख रुपैया आर्जन गरेको तथ्यांकमा उल्लेख छ ।

    त्यसैगरी लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले गएको वर्ष १८ अर्ब २२ करोड ३२ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । यो कम्पनीले प्रथम बिमा शुल्कबापत तीन अर्ब ११ करोड ९१ लाख रुपैयाँ आर्जन गरेको छ भने बिमालेख नवीकरणमार्फत १५ अर्ब १० करोड ४१ लाख रुपैयाँ आर्जन गरेको हो ।

    तेस्रो नम्बरमा रहेको नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले १४ अर्ब ३३ करोड ९६ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । यो कम्पनीले प्रथम बिमा शुल्कमार्फत चार अर्ब ६८ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ भने बिमालेख नवीकरणमार्फत नौ अर्ब ६५ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको समितिले जानकारी दिएको छ ।

    गत आवमा सबैभन्दा कम कुल बिमा शुल्क आर्जन महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले गरेको छ । यो कम्पनी जीवन बिमा कम्पनीहरूमध्येकै कान्छो कम्पनी भएकाले पनि कम कुल बिमा शुल्क आर्जन भएको हो ।

    महालक्ष्मीले गत वर्षको अन्त्यसम्ममा एक अर्ब ५८ करोड ६८ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । जसमा प्रथम बिमा शुल्क आर्जनमार्फत ८५ करोड १२ लाख रुपैयाँ आर्जन भएको छ भने ७३ करोड ५५ लाख रुपैयाँ बिमालेख नवीकरणमार्फत आर्जन गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images