काठमाडौं- इरानमा विवाह गर्न लागेकी युवती कुमारी नै हुनुपर्ने मान्यता छ। कहिलेकाहीँ पुरुषहरू आफूले बिहे गर्न लागेकी महिलाको कौमार्य पुष्टि गर्ने प्रमाणपत्र खोज्छन्। विश्व स्वास्थ्य सङ्गठनले त्यस्तो प्रथालाई मानवाधिकारविरुद्ध मान्ने गरेको छ। विगत केही वर्षयता मानिसहरूले त्यस्तो प्रचलनविरुद्ध अभियान चलाउन थालेका छन्।
“तिमीले मसँग विवाह गर्न जालझेल गर्यौ किनभने तिमी कुमारी हैनौ। सत्य थाहा पाएको भए तिमीलाई कसैले पनि बिहे गर्दैनथ्यो।”
पहिलो पटक सम्भोग गरेपछि मरियमका पतिले उनीसँग यसो भनेका थिए। किनभने सम्भोग गर्दा उनको रक्तस्राव भएको थिएन।
उनले त्यसअघि आफूले कहिल्यै शारीरिक सम्पर्क नगरेको कुरा बताइन्। तर उनका पतिले पत्याएनन् र मरियमसँग उनी कुमारी भएको प्रमाणपत्र मागे।
इरानमा यस्तो घटना नौलो होइन। विवाहको कुरो छिनेपछि धेरै महिला चिकित्सककहाँ जान्छन् र एक किसिमको परीक्षण गराउँछन् जसले उनीहरूले कहिल्यै यौन सम्पर्क नराखेको प्रमाणित गर्छ।
यद्यपि डब्ल्यूएचओका अनुसार कुमारीत्व परीक्षणको कुनै वैज्ञानिक आधार छैन।
मरियमको प्रमाणपत्रमा उनको हाइमन (कुमारी झिल्ली) “इलास्टिक” अर्थात् तन्किने प्रकृतिको भएको जनाइएको छ। त्यसको अर्थ मैथुन गर्दा उनको यौनाङ्गबाट रगत ननिस्किन पनि सक्छ।
“यसले मेरो आत्मसम्मानमा चोट पुर्यायो। मैले कुनै गल्ती गरेकी थिइनँ तर मेरा पतिले सधैँ मेरो अपमान गरिरहे,” उनले भनिन्। “मैले सहनै सकिनँ। त्यसैले केही औषधि खाएर मैले आत्महत्या गर्ने प्रयास गरेँ।”
त्यतिबेला तत्काल अस्पताल पुर्याइएको कारण उनी बाँचिन्।


विश्व खबर 


















