images
images
  • देशभरका नासुहरू बिदामा बस्दै आज

    काठमाडौं- आज (मंगलवार) देशभरका नायब सुब्बा (नासु)हरू बिदामा बस्दैछन् । सरकारले असमान रुपमा तलबमान बढाएको विरोधमा देशभरका नासुहरू बिदामा बस्न लागेका हुन् ।

    बजेटमा घोषणा गरेभन्दा असमान ढंगले सरकारले कर्मचारीको तलब बढाएको भन्दै आन्दोलनमा रहेका नासुहरूले आज बिदामा बसेर सांकेतिक रुपमा सरकारको विरोध गर्ने भएका हुन् ।

    काठमाडौं, भक्तपुर र ललितपुरका नासुहरुले हिजो सिहंदरबारको अर्थ मन्त्रालयमा भेला भएर असमान तलब वृद्धिको विरुद्ध आन्दोलन गरेका थिए ।

    हिजो पेन डाउन गरेर काम ठप्प बनाएका उनीहरु आज बिदामा बस्न लागेका हुन् ।

    कर्मचारीको तलब बजेटमा घोषणा गरिएकोभन्दा बढी बनाउन संसदीय समितिले गरेको सिफारिसका आधारमा सरकारले सार्वजनिक गरेको नयाँ तलबमान विवादमा परेको छ ।

    समान पदमा समान तलब बनाउन सरकारले अधिकृतदेखि सचिवसम्मको तलब २४ प्रतिशतले बढाउने गरी नयाँ तलबमान सार्वजनिक गरेको छ ।

    नयाँ तलबमान अनुसार नासुको भन्दा अधिकृतको तलबमा ठूलो अन्तर देखिएको उनीहरूको गुनासो छ । यसका साथै नासुको तलब हलुका सवारी चालक र सुरक्षा निकायका समान पदको भन्दा कम हुने भन्दै उनीहरूले विरोध जनाएका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images