काठमाडौं- गत वर्ष वन प्लस नाइनटी सार्वजनिक नगरेको वन प्लसले यो वर्ष भने वन प्लस टेन टीसँगै आफ्नो टी सिरिजलाई पुनः बजारमा फिर्ता ल्याएको छ । मोबाइलका अधिकांश विवरण यस अघि नै सार्वजनिक भइसकेका छन् ।
अन्तर्राष्ट्रिय बजारमा ८ जीबी र्याम तथा १२८ जीबी स्टोरेज भएको वनप्लस टेन टीको मूल्य ६२९ अमेरिकी डलर (करिब ८० हजार रुपैयाँ) राखिएको छ । त्यस्तै १६ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ७२९ अमेरिकी डलर (करिब ९२ हजार रुपैयाँ) रहेको छ ।
यो नयाँ फोनको समग्र डिजाइन वनप्लस टेन प्रो जस्तै रहेको छ । जसको पछाडि भागमा ठूलो आयातकार क्यामेरा बम्प राखिएको छ । तर आन्तरिक रूपमा भने यो नयाँ फोनमा अनेकौँ अपग्रेडहरू पाउन सकिन्छ ।
जसमा सबैभन्दा रोचक विषय यसको चार्जिङ प्रविधि हो । वनप्लस १० प्रो अधिकतम ८० वाट फास्ट चार्जिङमा सीमित रहेकोमा वनप्लस टेनटीमा भने १५० वाटको फास्ट चार्जिङ पाउन सकिन्छ ।
जुन यस अघि वनप्लस टेन आर र बीबीके इलेक्ट्रोनिक्सको रियलमी ब्रान्डको फोन जीटी नियो थ्रीमा देखिएको थियो । यो फोन १५० वाटको फास्ट चार्जिङबाट १९ मिनेटमै फुल चार्ज हुने कम्पनीको दाबी छ ।


विश्व खबर 



















