काठमाडौं- व्यवसाय गर्नको लागि पैसा मात्र भएर हुदैन् । चाहानको साथै आट र हिम्मत पनि चाहिन्छ । हो यस्तै एक उदाहरण बन्न पुगेका छन् विष्णु प्रजापति । उनले सन् २०६० सालमा माया नर्सरी स्थापना गरेका थिए । उक्त नर्सरी ३ लाख लगानीबाट सुरु भएर १९ वर्षमा आइपुग्दा वार्षिक २० लाख आम्दानी गर्न सफल भएको छ ।
१९ वर्ष अगाडि सुरु भएको माया नर्सरीका मालिक प्रजापति भक्तपुरको मध्यपूर ठिमीमा जन्म भई अहिले काठमाडौंको चावहिलस्थित कालोपुलमा बस्दै आएका छन् । उनले आफ्नो नर्सरीको व्यवसाय कालोपुलबाटनै सुरु गरेको थिए । नर्सरी सुरु गर्नु भन्दा पहिले उनको आफ्नै सानो गमला पसल थियो जसले आफूलाई नर्सरीको व्यवसाय गर्न बाटो देखाएको बताउछन् । ‘गमलाको पसल हुँदा आफूले विभिन्न नर्सरीमा गमला पुर्याउन जानु पर्ने हुन्थ्यो’, उनले भने, ‘नर्सरीहरुमा गमला पुर्याउन जाँदा नर्सरीको व्यवसायप्रति आर्कषित भएको हुँ’ ।
भनिन्छ नि आट र हिम्मतको अगाडि केहि लाग्दैन । उनले रात दिन मेहेनत गरेर आफुले नर्सरीको व्यवसाय गर्ने सोच बनाए । कुनै पनि व्यवसाय गर्नको लागि त्यस सम्बन्धित ज्ञान हुनु आवश्यक हुन्छ । त्यसैले उनले गमला पसलको साथै नर्सरी व्यवसायको लागि ट्रेनिङ पनि लिए । करिब एक वर्षको ट्रेनिङ लिएपछि उनी नर्सरी व्यवसाय गर्नको लागि सक्षम भएका थिए। ट्रेनिङसँगै पसललाई पनि साथसाथै अगाडि लैजानु सहज त कहाँ थियो र ? तैपनि आफू हिम्मतका साथ अगाडि बढेको बताउँछन् ।

तीन लाख लगानीमा नर्सरी व्यवसाय
व्यवसाय गर्नको लागि ३ लाख लगानीले भने जस्तो त कहाँ हुन्थ्यो र ? जसोतसो ३ लाखको लगानीबाट उनले माया नामक एक नसरी स्थापना गरे । त्यसपछि उनको अझ सङर्घषका दिनहरु सुरु भएको थियो । उनले नर्सरीको लागि चाहिने सबै उत्पादनहरु आफैँ गरेको बताउँछन् । उनले उत्पादनको लागि चाहिने बिउ र पट तथा गमलाहरु मात्र आयात गर्ने गरेका थिए । उत्पादन पनि आफैँ अनि नर्सरीको देखपाल पनि आफैँ गर्नको लागि त्यति सहज त कहाँ थियो र ? तैपनि उनले हिम्मत राखेर दिन रात नभनि मेहेनत गरेर नै आज यहाँसम्म आइ पुगेको सुनाए ।
उनले भने, “मैले नर्सरीबाट भएको व्यापारको पैसाले अन्त खर्च नगरी नर्सरीमा नै लगानी गरेको हो ।” ३ लाखको लगानीलाई ३० लाख बनाउँनको लागि मेहेनत त गर्नु नै पर्छ । उनले पनि सबै बोट बिरुवाहरु आफैँ उब्जाएर त्यहाँबाट भएको आम्दानीले फेरी नर्सरीमा आवश्यक सामानहरु थप्दै व्यवसायलाई बढाए । व्यवसाय बढ्दै गएपछि आफूले मात्र धान्न सकसभएपछि उनले कर्मचारी राखेको बताउँछन् ।
६ जनालाई रोजगारी
नर्सरीमा लगानी बढ्दै गएपछि आफूू एक्लैले धान्न नसकेर उनले कर्मचारी राख्न थाले । अहिले उनले ६ जना कर्मचारीलाई रोजगारी दिएका छन्। उनको नर्सरीमा काम गर्ने कर्मचारीलाई खाना र बस्नको पनि राम्रो व्यावस्था रहेको छ ।
जग्गाको अभाव
नर्सरी व्यवसायीहरुको लागि सबै भन्दा ठूलो समस्या भनेको नै जग्गाको अभाव हो । जग्गाको अभावकै कारण उनले सबै उत्पादन एउटै ठाउँमा गर्न सकेका छैनन् । त्यसैले उनले चाइनिज दुबोको लागि गोठ्ठाटारमा जग्गा भाडामा लिएर उत्पादन गरेका छन् । यता गोठ्ठाटारमा उनले त्यहाँको किशानलाई जिम्मा लगाइदिएका छन् । उनका अनुसार ६ जना किशानले गोठ्ठाटारमा रोजगारीको अवशर पाएका छन् । उनीहरुले दुबोको लागि चाहिने आवश्यक देखपाल गर्दै आएका छन् ।
ग्राहकहरुले नै ग्राहक ल्याउछन्
उनको व्यवसाय अरुको जस्तो धेरै जग्गामा फैलिन त सकेको छैन् तर पनि उनी त्यसमा नै सन्तुष्ट भएको बताउछन् । सानै जग्गाको लगानीले पनि राम्रो आम्दनी भएको छ । सुरु सुरुमा बाटोमा नै भएको कारण ग्राहकहरु आउने गरेका थिए त्यसपछि भने उनले राम्रो मूल्यमा सामान दिएको र गाडेनिङहरु पनि राम्रो गर्देकै कारण ग्राहकहरुले नै ग्राहक ल्याएको उनको भनाइ छ । उनको नर्सरीमा विभिन्न प्रकारका मौसमी फूल, बाह्रमासे फुल, इनडोर प्लान्ट, आउटडोर प्लान्ट, विभिन्न प्रकारका फलहरु र दुबो पाइन्छ । सबै प्रकारका बिरुवाको लागि आवश्यक पर्ने मल तथा कीटनाशकहरु पनि पाइन्छ । उनले गाडेन डिजाइन, वाटर फाउन्टेन एण्ड आटिफिसियल वाटरफल, रक गाडेनको डिजाइन आफैँले गर्छन । जापनिच कार्पेट ग्रासपनि उनको नर्सरीमा उपलब्ध छ ।

उनले बिरुवामा रोग लागेमा, कुनै समस्या आएमा घरमै गएर हेरिदिने गरेका छन् र गार्डेन डिजाइनपनि उनी आफैले गर्ने गरेका छन् । साथै, नजिकबाट अडर आएमा होम डेरिभरीको पनि व्यावस्था रहेको छ । उनी भन्छन्, टाढाबाट आउने ग्राहकहरुलाई हामीले डेलिभरी दिएको छैनौँ नजिकबाट आउनेहरुको लागि भने होम डेलीभरीको पनि व्यवस्था गरेका छौँ । डेलिभरीकै लागि स्टाफ नभएको कारण टाढाबाट आउँने ग्राहकलाई यो सुविधा उपलब्ध गर्न सकेका छैनौँ ।
व्यवसाय गर्नको लागि धरै लगानी नै चाहिन्छ भन्ने सोच भएका मान्छेहरुका लागि एक उदाहरण पात्र हुन् विष्णु प्रजापति । उनले ३ लाखमा व्यवसाय सुरु गरेर ३० लाखसम्मको लगानी पुर्याएका छन् । अरुले करोडौँको लगानीमा व्यवसाय गर्छन् तर उनले ३० लाखको लगानीबाट पनि राम्रो आम्दानी गरेका छन् । उनी यसमा नै सन्तुष्टि भएको बताउछन् ।


विश्व खबर 



















