काठमाडौं- नेपाल राष्ट्र बैंकले दुईथरी ब्याजदरको व्यवस्था गर्न लागेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कृषि र उद्योगलाई प्रोत्साहन गर्न दुईथरी ब्याजको व्यवस्था गर्न लागेको हो ।
पछिल्लो समय अत्यावश्यक मानिएका खाद्यान्न र कतिपय अनावश्यक वस्तुको पनि आयात बढेको भन्दै त्यसलाई निरुत्साहन गर्न पुँजीगत वस्तुको आयात र अन्य वस्तुको आयातमा कम्तिमा २ प्रतिशत बिन्दुले ब्याज फरक हुने व्यवस्था मौद्रिक नीतिमार्फत गर्न लागिएको हो ।
कतिपय उद्योगी व्यवसायीले समेत उद्योग र अन्य क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक हुनुपर्ने र औद्योगिक क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने माग गर्दै आएका छन् । मुलुकको आवश्यकता, औद्योगिक क्षेत्रको विस्तार र कृषि उत्पादनमा आत्मनिर्भर हुन व्यापक लगानी प्रोत्साहन गर्नुपर्ने भएकाले अन्य क्षेत्रको ब्याजदर बढाएर भए पनि यी क्षेत्रमा ब्याज कम बनाउनुपर्ने दबाबमा केन्द्रीय बैंक थियो ।
व्यापार, घरजग्गा कर्जा र सेयर धितो कर्जालाई निरुत्साहन गर्न पनि ब्याजदर बढाउनै पर्ने बाध्यतामा राष्ट्र बैंक थियो । विगतदेखि नै हरेक सरकार, अर्थमन्त्री र गभर्नरहरुले ब्याजदर हेरफेर गर्ने भने पनि कसैले दुई थरी ब्याजको आँट गर्न सकेका थिएनन् ।
स्रोतका अनुसार कृषि, उद्योग, साना तथा मझौला उद्यम, पुँजीगत आयातलगायतमा आधारदरमा अधिकतम २ प्रतिशत र व्यापार, घरजग्गा कर्जा, अधिविकर्ष (ओभर ड्राफ्ट) सेयर धितो कर्जा दिँदा आधार व्याजदरमा न्यूनतम ४ प्रतिशत प्रिमियमबाट कर्जाको ब्याजदर सुरु हुने गरी केन्द्रीय बैंकले नीति अघि सारेको हो ।


विश्व खबर 



















