चरिकोट- दोलखाको पर्यटकीय तामाङ गाउँ सोक्लामा ‘रक क्लाम्विङ एण्ड हाइकिङ’ रुट सुरु भएकोे छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर आर्थिक समृद्धि र विकासको सम्भावना भएको सोक्लामा रक क्लाम्विङ सुरु गरिएको हो ।
सोक्लाश्वरी पर्यटन विकास समाजले यस क्षेत्रको प्रवद्र्धनका लागि गुरु योजनासहित उक्त क्षेत्रमा साहसिक पर्यटकीय गतिविधि सुरु गरेका हुन् । खेलाप, सोक्ला र चक्पासँग जोडिएको तीन वटै पहरामा मिनी रक क्लाविङ, एडभान्स र हाइ लेवलको रक क्लाविङ गर्न सक्ने विज्ञ तथा अन्तर्राष्ट्रिय गाइड छिरिङ जाङबु शेर्पाको भनाइ छ ।
‘सोक्लाको रक, भूगोल र वातावरणीय दृष्टिले रक क्लाविङसँगै साइक्लिङ गर्न सकिन्छ । स्वेदशी भन्दा पनि विदेशीहरुका लागि यो उत्तम गन्तव्य हो,’ मान्टेड गाइड शेर्पाले भने,‘अन्डर ग्राउण्ड एडभेन्चर टुरिजमका लागि सोक्लाको भूगोल छनौटमा छ । यहाँ पाँच वटा रुट बनाएर रक क्लाविङ गर्न सकिन्छ ।’

उनका अनुसार गुमडाँडाको डिलबाट पुनः प्याराग्लाइडिङ गरेर तामाकोशी किनारामा ल्यान्डिङ गर्नका लागि वेसक्याम्प बनाउनु छ । सोक्ला खेलाप क्षेत्रमा एग्रो टुरिजमसँगै जिप लाइन र बञ्जी जम्प निर्माण गरेर विदेशी पाहुन भित्र्याउन सक्ने शेर्पाको अध्ययनले देखाएको छ ।
भीमेश्वर नगरका विपत व्यवस्थापन टिमले सोक्लामा रक क्लाविङ परिक्षण गरेको छ । गाइड तथा प्रशिक्षक थिर बहादुर खड्का र शिव खड्काको टिमले सफल रुपमा रक क्लाविङ परिक्षण गरेका हुन् ।
प्रशिक्षक थिर बहादुर खड्काले सोक्लामा रक क्लाविङका लागि सबैको रोजाइको गन्तव्य हुने बताएका छन् ।
फ्रान्सका नागरिकहरुले समेत सोक्ला गाउँको रक क्लाविङ क्षेत्रको भ्रमण गरेका छन् । नेपालमा सामाजिक कार्य गर्दै आएका १५ जनाको टिमले यस क्षेत्रको प्रवद्र्धनका लागि सहयोग गर्ने बताएका छन् ।
सोक्लाको पर्यटकीय गन्तव्यको उत्कृष्ट तस्वीर र भिडियोलाई सामाजिक सञ्जालसँगै फ्रान्समा प्रचार गर्ने उनिहरुले बताए ।

भीनपा २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठले फ्रेन्च नागरिकहरुलाई दोलखा बजारमा स्वागत गरेका थिए । दोलखाबाट फ्रेन्च नागरिकहरुले ‘सोक्ला रक क्लाविङ एण्ड हाइकिङ २०७९’ सुरु गरेका थिए ।
फ्रेन्च नागरिकहरु दोलखा, दुङगल, गंङरास, डिलढुंगा चक्पा हुँदै सोक्ला पुगेका थिए । उनीहरुले सोक्लामा बोम्बो(झाँक्रि) संस्कृतिको अवलोकन समेत गरे । यसपछि रक क्लाविङ रुटको भ्रमण गरेको सोक्लाश्वरी पर्यटन विकास समाजले जनाएको छ । उनीहरु यस रुट हुँदै गुमडाँडा भएर चम्पुचा पार्क निस्किएका थिए । हाइकिङमा भीमेश्वर नगर विपत व्यवस्थापनका थिर बहादुर खड्का र शिव खड्का, भीमेश्वर नगरका कार्यपालिका सदस्य मुना श्रेष्ठ, भीनपा २ का वडा सदस्य सविना विक लगाएतको सहभागीता रहेको थियो ।

सोक्लाश्वरी पर्यटन विकास समाजले यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आइरहेको छ । समाजका अध्यक्ष अर्जुन पाख्रिनले दोलखाको समृद्धि र विकासका लागि पर्यटन नै प्रमुख आधार भएको बताए ।
सोक्लालाई एडभेन्चर टुरिजम गन्तव्य बनाउनका लागि रक क्लाविङ, बञ्जि र प्याराग्लाइडिङसँगै ¥याफ्टिङ प्रवद्र्धनमा भीमेश्वर नगरपालिको बजेट व्यवस्थापन गर्नु पर्ने बताउँछन् ।
साथै,यहाँको साँस्कृतिक सम्पदा, जातिय तथा भाषिक विविधितालाई अध्ययन केन्द्र, चर्या पर्या पर्यटनलाई जोड दिनु पर्ने पाख्रिनको भनाई छ । यस क्षेत्रमा तामाङ, थामी, मगर, क्षत्रि, नेवार र दलित समुदाय रहेका छन् ।













विश्व खबर 



















