images
images
  • भेरी अस्पतालमा चिकित्सक र नर्समाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मी आन्दोलित


    नेपालगन्ज। बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा बिहीबार राती चिकित्सक र नर्समाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् ।

    कोरोना संक्रमित विरामीको उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर विरामीका आफन्तहरुले विहीबार राती कोभिड वार्डमा खटिएका चिकित्सक, नर्सिङस्टाफ तथा स्वास्थ्यकर्मी कुटपिट गर्नुका साथै आईसीयू कक्षमा तोडफोड गरेका थिए ।

    आक्रमणबाट ज्यान जोगाउन डा.चन्द्रप्रकाश शाहु, नर्सहरु सदिक्षा गैरे, बन्दना श्रेष्ठ र आश्विन गुरुङले पहिलो तलाबाट हाम फालेर भागेका थिए ।अस्पतालमा उपचारका क्रममा मृत्यु भएका दाङका एमाले नेता डिल्लीबहादुर रावतका भाई मानबहादुर रावतसहितले आक्रमण गरेपछि उनीहरु ज्यान जोगाउन भागेका हुन्।

    चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा नर्सिङ संघ बाँकेले अस्पताल परिसरमै प्रदर्शन सुरु गरेको हो ।

    यसअघि एक विज्ञप्ति जारी गर्दै संघका बाँके अध्यक्ष लक्ष्मी केसी ओलीले बिरामीको सेवामा निःस्वार्थ भावले अनवरत लागिरहेका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक अपराधजन्यको गतिविधिको भत्सर्ना गर्दै संघको गम्भीर ध्यानाकर्षण भएको बताएकी थिइन् ।

    अपराधजन्य प्रवृत्तिका घटनामा संलग्न दोषी ब्यक्ति वा समूहलाई अबिलम्ब नियन्त्रणमा लिइ कडाभन्दा कडा कारबाही गर्न र आगामी दिनमा शान्तिपूर्ण वातावरणमा निर्भिकका साथ स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण मिलाउन नर्सिङ संघ बाँकेले माग गरेको छ ।

    कोरोना संक्रमणबाट सिकिस्त भएपछि दाङबाट रिफर गरेर नेपालगन्ज पठाइएका संक्रमित डिल्ली रावत गत जेठ ४ गते भेरी अस्पताल भर्ना भएका थिए ।

    उनको उपचारका क्रममा विहीबार राती ८ बजे मृत्यु भएको थियो । विरामीका आफन्तहरुले चिकित्सकहरुको लापरवाहीले विरामीको मृत्यु भएको आरोप लगाएका छन् । त्यही आक्रोशमा उनीहरुले आईसीयूमा प्रवेशगरी तोडफोड गर्नेदेखि स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए ।

    प्रहरीले मानबहादुरसहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरी नियन्त्रणमा रहेका तीन जनामध्ये दुईजना डिल्लीका छोरा र मानबहादुर भाइ रहेको खुलेको छ ।आक्रमणमा अगुवाई गर्ने मानबहादुर नेकपा एमालेका प्रदेश कमिटी सदस्य हुन् ।

    घटना लगत्तै भेरी अस्पतालमा बसेको चिकित्सक र अस्पताल विकास समितिको पदाधिकारीहरुको बैठकमा प्रशासनले घटनामा संलग्नहरुलाई कारवाही गर्ने प्रतिबद्धता जनाएका थिए ।

    घटनाको छानविन गर्न स्थानीय प्रशासनले बिहीबार राती नै सहयाक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा छानविन समिति बनाएको छ ।

    चिकित्सक संघ लुम्बिनीका महासचिव डाक्टर सागर न्यौपानेले महामारीको अग्रभागमा रहेका डक्टर,नर्समाथिको आक्रमणप्रति निन्दा गर्दै अपराधीलाई कडा कारबाहीको माग गरेका छन् । उनले अपराधी जुनसुकै दलविशेषमा रहे पनि अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन नसके उनीहरूको मनोबल बढ्न दिन नहुने बताए ।

    यसैगरी नेकपा एमाले बाँकेले घटनाको भर्त्सना गर्दै घटनाको अनुसन्धान गर्न माग गरेको छ । एमाले अध्यक्ष सूर्य ढकालले दोषी जोसुकै भए पनि तत्काल कारबाही अगाडि बढाउन माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images