काठमाडौं । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको स्थापना दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । यसैको अवसरमा आधिकारिक ट्रेड युनियनको विभागिय कार्य समिति (पशुपंक्षी) ले पनि बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका कार्यवाहक केन्द्रिय अध्यक्ष भोला पोखरेलको प्रमुख आतिथ्यतामा आयोजित रक्तदान कार्यक्रममा पशुसेवा विभागका कार्यकारी निर्र्देशक विशिष्ठ अतिथि रहनुभएको थियो । विभागको परिसर हरिहरभवनमा आयोजना गरिएको रक्तदान कार्यक्रममा कृषि मन्त्रालय मातहतका विभिन्न विभाग र कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पोखरेलले आधिकारिक ट्रेड युनियनको विभागिय कार्य समिति (पशुपंक्षी) ले लामो समयदेखि विभिन्न रचामत्क कार्यक्रम गर्दै आएकोमा प्रशंसा गर्दै यो पटक रक्तदान कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद समेत दिनुभयो । पोखरेलले निजामती कर्मचारीहरुले सेवा प्रवाहमा प्रभावकारीता बढाउनुपर्ने उल्लेख गर्नुहुँदै सबै निजामती कर्मचारीहरुका संगठनहरु बीचमा सेवा प्रवाहमा एकता हुन जरुरी रहेको बताउनुभयो । उहाँले कर्मचारीहरुले प्रशाषनसँग मिलेर काम गर्नुपर्नेमा पनि जोड दिनुभएको थियो । निजामती कर्मचारीहरुको सेवा सुविधा बढाउन आधिकारिक ट्रेड युनियन लामो समयदेखि लडिरहेको र आजका सबै उपलब्धि ट्रेड युनियनकै आन्दोलनका कारण सम्भव भएको प्रमुख अतिथि पोखरेलको भनाइ थियो ।

कार्यक्रमका विशिष्ठ अतिथि तथा पशुसेवा विभागका महानिर्देशक डा.रामनन्दन तिवारीले आधिकारिक ट्रेड युनियनको विभागिय कार्य समिति (पशुपंक्षी) ले रक्तदान कार्यक्रम आयोजना गरेर अत्यन्तै राम्रो काम गरेको उल्लेख गर्दै युनियनले गर्ने हरेक रचनात्मक कार्यलाई विभागले सहयोग गर्ने बताउनुभयो । कर्मचारी र प्रशाषनबीचको समन्वयले मात्रै सेवा प्रवाहलाई अझ चुस्त/दुरुस्त बनाउन सकिनेमा उहाँले जोड दिनुभयो ।
विभागिय कार्यसमितिका अध्यक्ष प्रकाश मगरका अनुसार रक्तदान कार्यक्रममा ट्रेड युनियनसँग सम्बन्धित विभिन्न संगठनका नेताहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा ४५ जनाजतिको सहभागिता रहेको भएपनि ३० जनाले रक्तदान गरेको मगरले बताउनुभयो । । विभागिय कार्य समिति (पशुपंक्षी) ले आधिकारिक ट्रेड युनियनको स्थापना दिवसको अवसरमा विगतदेखि नै विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ ।


विश्व खबर 




















