धनगढी । नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेज सञ्चालनको विषय नराखिए पछि त्यसको विरोधमा धनगढी र अत्तरियामा आन्दोलन सुरु भएको छ ।पूर्वाधार तयार भइसकेको गेटा मेडिकल कलेजको सट्टा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा मेडिकल कलेज सञ्चालनको विषय समेटिनुले कैलाली बासी सशंकित बनेका हुन । उनीहरुले प्रधानमन्त्री देउवाले गेटालाई बेवास्ता गरेर आफ्नो चुनावी एजेन्डा बनाउन मात्र घोषणा गरेका हुन् कि भन्ने प्रश्न उठाएका छन् ।
गेटा मेडिकल कलेज सञ्चालनका लागि दबाव दिन धनगढी र अत्तरियामा छुट्टाछुट्टै संघर्ष समिति समेत निर्माण गरिएका छन् । धनगढी र अत्तरियाका दुवै संघर्ष समितिले मेडिकल कलेज सञ्चालनका लागि दबावस्वरुप हस्ताक्षर संकलन गर्दै मेयर गोपाल हमाल र मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र समेत बुुझाएको बताइएको छ ।
आन्दोलनकर्ताहरुले डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्नु राम्रो भएपनि गेटामा भौतिक संरचना निर्माण भइसकेको अवस्थामा मेडिकल कलेज सञ्चालनको घोषणा किन नगरेको भन्दै सरकार माथि प्रश्न उठाएका हुन् । अत्तरिया संघर्ष समितिका संयोजक लोकराज पाण्डेले भौतिक संरचना निर्माण भइसकेकाले गेटा मेडिकल कलेज तत्काल सञ्चालन हुनुपर्ने बताए ।
भौतिक संरचना निर्माण भइसकेको गेटामा सञ्चालन गर्न ढिलाइ भइरहेकोले तत्काल अस्पताल र चिकित्सा शिक्षाको अध्यापन थाल्नुुपर्ने कैलाली बासीको माग छ । माग सम्बोधन नभए जस्तोसुकै कदम चाल्न बाध्य हुने उनीहरु बताउँछन् । नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेजको विषयमा नबोलिएका कारण दबाव दिन आन्दोलनको थालनी गरिएको र चाँडोभन्दा चाँडो कलेज सञ्चालनमा ल्याउनुुपर्छ भनेर दबावमूलक कार्यक्रम गरिरहेको उनीहरुको भनाइ छ ।
गेटा मेडिकल कलेज पूर्वाधार निर्माण समितिका इन्जिनियर पवन रावलका अनुसार अस्पताल र कलेज भवन सञ्चालनका लागि आवश्यक आधारभूत भौतिक संरचना निर्माण सम्पन्न भएर हस्तान्तरण समेत भइसकेको छ । ८ अर्ब रुपैयाँ लागत अनुमान गरिएको गेटा मेडिकल कलेजमा अहिलेसम्म साढे पाँच अर्बभन्दा बढीको काम भइसकेको मेडिकल कलेज पूर्वाधार विकास समितिले जनाएको छ ।


विश्व खबर 



















