काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रतिम दुई महिलाको मृत्यु भएको छ।
प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणि पोखरेलका अनुसार सुनसरी धरान २ र सप्तरी २ तिरहुतकी महिलाको उपचारका क्रममा मृत्यु भएको हो।
सहप्रवक्ता पोखरेलले बुधबार बिहान करिब १ बजेर ३० मिनेटमा ४० वर्षीया महिलाको मृत्यु भएको बताए। उच्चरक्तचापबाट पीडित महिलामा जेष्ठ ५ गते कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको थियो।
संक्रमण पुष्टि भएको ५ दिनपछि जेष्ठ १० गते स्वास्थ्य अवस्थामा समस्या आएपछि उनलाई प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो।
यस्तै मंगलबार राती करिब ११ बजेर ३५ मिनेटमा सप्तरी ३ तिरहुतकी ६० वर्षीया संक्रमित महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ।
उच्च रक्तचापको समस्या रहेको महिलामा जेष्ठ ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएको दिन नै महिलालाई थप उपचारका लागि प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो।
यससँगै प्रतिष्ठानमा हालसम्म १ सय ८७ जना संक्रमितको उपचारका क्रममा मृत्यु भइसकेको छ। हाल प्रतिष्ठानमा ५९ जना संक्रमित उपचाररत रहेको सहप्रवक्ता डा. पोखरेलले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्