काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा एक साता थपसहित किराना पसलसमेत खोल्न नपाइने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्ला प्रमुख अधिकारीको मंगलबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
जारी एक साता थपसँगै उपत्यकामा अब आगामी २० जेठसम्म निषेधाज्ञा कायम हुनेछ । काठमाडौं प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुुसार निषेधाज्ञा अनुसार निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोरसमेत खोल्न पाइनेछैन ।
कोरोना संक्रमण दर कम नभएपछि यस्तो निर्णय गर्न बाध्य भएको उनले जानकारी दिए । ‘जारी निषेधाज्ञा एक साता थप गर्ने निर्णय भयो, अब किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न पाइनेछैन,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले भने ।
तरकारी तथा दुधजन्य पदार्थ, फलफूल, मासु र खाना पकाउने ग्यास तथा खानेपानीका पसल भने सञ्चालनमा रोक लगाएको छैन । यस्ता पसल बिहान ९ बजेसम्म खोल्न पाइनेछ । कोरोना दोस्रो लहरको संक्रमण बढ्दै गएपछि काठमाडौंसहित भक्तपुर र ललितपुर गरी उपत्यकाका तीनै जिल्लामा गत १६ वैशाखदेखि निषेधाज्ञा जारी छ ।
यसअघि, गत ३० वैशाखमा निषेधाज्ञा थप गर्दै दुई साता र त्यसअघि २२ वैशाखमा एक साता थप गरिएको थियो । पछिल्लोपटक थप निषेधाज्ञा १३ जेठससम्म तोकिएको हो । पछिल्लोपटक सरकारले कोभिड–१९ अध्यादेश २०७८ ल्याएपछि प्रशासनले निषेधाज्ञा कार्यान्वयनमा थप कडाइसमेत गरेको छ ।
निषेधाज्ञा कडा पार्नुको कारणबारे काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीसँगको कुराकानीः
काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले खाद्य पसल पनि बन्द गर्ने निर्णय गरेको हो ?
एक हप्ताका लागि खाद्यान्न, किराना पसल र डिपार्टमेन्टल स्टोरसमेत बन्द गर्ने भन्ने निर्णय भएको छ ।
खाद्यान्न पसलसमेत बन्द गर्दा जनतामा असर पर्दैन ?
तरकारी फलफूल पसल खोलिदिएको छ । एक हप्ताका लागि भोलि र पर्सी त किन्न पाउनुहुन्छ नि उहाँहरूले । एक हप्ताका लागि कति मान्छेको सञ्चय हुन्छ । नभए तत्कालै सञ्चय गर्नुपर्यो ।
तपाईंहरूले के को आधारमा यस्तो निर्णय लिनुभएको हो ?
संक्रमण दर घटिरहेको छैन । बिहान भीडभाड देखियो । बिहानको भीडभाड रोक्नका लागि हो ।
तपाईंहरूको निर्णयपछि सामाजिक सञ्जालमा खाद्यान्नको जोहो कसरी गरिन्छ भन्ने प्रश्न उठिरहेका छन्, यी प्रश्नलाई कसरी लिनुभएको छ ?
एक हप्ताका लागि खरिद गर्न भोलि र पर्सी त टाइम दिएकै छ नि १ १४ गतेदेखि लागू हुने गरेर निर्णय गरिएको हो । अब तरकारी पसल जुन बिग्रिने कुराका पसल खोल्दिएकै छ । दाल, चामल, तेल एक हप्ताका लागि सञ्चय गर्न सक्नुहुन्छ, भोलि र पर्सीमा खरिद गरेर राख्नुहुन्छ । एक हप्ताका लागि पुग्छ भनेर हामीले चेन ब्रेक ९कोरोना संक्रमणको० गर्नका लागि निर्णय गरेको हो ।
निशेधाज्ञा त लगाउनुभयो कोरोना नियन्त्रणका लागि थप के काम गर्दै हुनुहुन्छ ?
कोरोना नियन्त्रणको लागि स्वास्थ्य मन्त्रालयले पीसीआर गराउने, भेन्टिलेटरका काम गर्ने हो । यो अवस्थामा पनि खोपको काम त हामीले रोकेका छैनौं । स्वास्थ्य मन्त्रालयले पूर्वाधार तयार गर्ने काम गराइराखेको छ । आइसोलेसन सेन्टर बनाउने पीसीआर परीक्षण गर्ने काम त गरिराखेको हुन्छ ।
तपाईंहरूको जिम्मेवारी भनेको निशेधाज्ञा लगाउने र हिँड्डुल गर्न रोक्ने मात्रै हो ?
स्वास्थ्य मन्त्रालयले गर्छ अरु कामहरू ।राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस्