images
images
  • रुसी आक्रमणमा १३ बालबालिकासहित १३६ युक्रेनी मारिए – संयुक्त राष्ट्रसंघ

    रुसले युक्रेनमा गरेको आक्रमणका कारण अहिलेसम्म १३ बालबालिकासहित कम्तीमा १३६ जना सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

    गएको बिहीबार ९फेब्रुअरी २४० देखि रुसले युक्रेनमा युद्ध सुरु गरेको हो। त्यसयता कम्तीमा १३६ जना सर्वसाधारणको ज्यान गएको संयुक्त राष्ट्रसंघले मंगलबार बताएको हो।

    संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तकी प्रवक्ता लिज थ्रोसेलका अनुसार आक्रमणमा २६ बालबालिकासहित ४०० सर्वसाधारण घाइते भएका छन्।

    उनले भनेकी छन्, ‘हामीले पुष्टि गर्न सकेको हताहतीमात्रै हो यो, युद्धमा मारिने तथा घाइते हुने सर्वसाधारणको संख्या योभन्दा धेरै हुनसक्छ।’
    युद्धमा प्रयोग भएका ठूलो क्षेत्रसम्म हानी गर्ने विस्फोटक पदार्थका कारण हताहती बढी भएको उनले बताएकी छन्। गोलाबारी, रकेट तथा मिसाइल घातक देखिएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

    यसअघि गएको आइतबार युक्रेनले सार्वजनिक गरेको तथ्यांक संयुक्त राष्ट्रसंघको भन्दा निकै धेरै थियो। मन्त्रालयका अनुसार रुसी आक्रमणका कारण ३५२ जना सर्वधारणको मृत्यु भएको छ। यस्तै एकहजार ६८४ जना घाइते भएका छन्।

    सातौँ दिनमा प्रवेश गर्दा युक्रेनमाथि रुसी आक्रमण थप घातक बनेको छ। रुसले सार्वजनिक स्थान तथा आवासीय क्षेत्रलाई नै निशाना बनाएको छ।

    युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले आफ्नो देशमा आतंककारी गतिविधि गरेको बताएका छन्। उनले रुसले युद्ध अपराध गरिरहेको आरोप लगाएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images