images
images
  • रुसी सैन्य निशानामा युक्रेनको राजधानी किभ, सहरनजिकै भीषण भिडन्त

    रूसले बिहीबार आफ्नो छिमेकी युक्रेनमाथि सैन्य आक्रमण सुरु गर्‍यो । दोस्रो विश्वयुद्धपछि युरोपमा कुनै एउटा मुलुकले अर्को मुलुकमाथि यति ठूलो सैनिक आक्रमण गरेको यो पहिलो पटक हो ।

    केही सातादेखि नै झन्डै दुई लाख रूसी सैनिकले युक्रेनलाई घेरेको भए पनि रुसले आक्रमणको कुनै योजना नभएको बताउँदै आएको थियो । युक्रेनमाथि आक्रमण गरेको दोस्रो दिन भने रूसी सैनिकहरूले राजधानी किभलाई निसाना बनाएका छन् ।

    पुटिनले किभ कब्जा गर्नकै लागि छिमेकी बेलारूसमा यसअघि नै हजारौं सैनिक उतारेका थिए । रूसी सैनिकहरू बेलारूसबाट अघि बढेसँगै युक्रेनको राजधानी किभमा बिस्फोटहरू भएका छन्। किभमा एयर रेड साइरनहरू बजेका छन् ।

    युक्रेनी सेनाले राजधानी किभको बाहिरी इलाका डाइमेर र इभान्किभमा सशस्त्र सेनाहरू लडाइँमा संलग्न भएको बताएको छ जहाँ ठूलो संख्यामा रुसी सशस्त्र गाडीहरू अगाडि बढेका छन् ।

    यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रूसी सैनिकको पहिलो निशाना आफू भएको बताएका थिए । शुक्रबार एक सम्बोधन गर्दै जेलेन्स्कीले राष्ट्र प्रमुखलाई मारेर रुसले युक्रेनलाई राजनीतिक रूपमा ध्वस्त पार्न खोजेको आरोप लगाए ।

    यद्यपि आफू युक्रेन छोडेर भने नभाग्ने जेलेन्स्कीले बताएका छन् । रूसी आक्रमणबाट अहिलेसम्म १३७ युक्रेनीको मृत्यु भएको पुष्टि भएको छ भने ३१६ जना घाइते भएको बताइएको छ ।

    यसैबीच युक्रेनी अधिकारीका अनुसार रुसी अपरेटिभहरू राजधानी किभमा पसिसकेका छन्। युक्रेनको रक्षा मन्त्रालयले शत्रुको संज्ञा दिँदै उनीहरु शहरको केन्द्रमा रहेको किभको संसदबाट करिब ९ किलोमिटर (५.५ माइल) उत्तरमा रहेको ओबोलोन जिल्लामा रहेको बताएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images